दसैं सकिएसँगै सस्तियो कुखुरा मासु

काठमाडौं, कार्तिक ८ गते ।

दसैं सकिए लगत्तै काठमाडौंमा कुखुरा मासुको भाउमा गिरावट आएको छ ।

राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले भोलि सोमबारदेखि लागु हुने गरी जिउँदो कुखुरा र तयारी मासु दुवैको भाउ घटाएको हो ।

संघका अनुसार जिउँदो कुखुराको भाउ प्रतिकिलो १० रुपैयाँ घटेको छ । दसैंअघि प्रतिकिलो २ सय ९० रुपैयाँमा बिक्री भइरहेको जिउँदो कुखुराको भाउ अब २ सय ८० रुपैयाँ कायम गरिएको छ ।

त्यसैगरी तयारी मासुको भाउ पनि प्रतिकिलो १५ रुपैयाँले सस्तिएको छ । यसअघि ४ सय रुपैयाँमा बिक्री हुँदै आएको तयारी मासु ३ सय ८५ रुपैयाँ तोकिएको संघले जनाएको छ ।

मूल्य घट्नुको मुख्य कारण बजारमा मासु खपतमा आएको कमीलाई मानिएको छ । संघका अनुसार दसैंको समयमा कुखुराको तुलनामा खसीबोकाको मासु बढी प्रयोग हुने गर्छ ।

यसका साथै चाडपर्व मनाउन काठमाडौं उपत्यका बाहिर गएका अधिकांश मानिस अझै फर्किसकेका छैनन् । उपत्यकामा मानिसहरूको उपस्थिति कम हुँदा समग्रमा मासुको माग र खपत घटेकाले मूल्य समायोजन (घटाउनु) परेको संघको भनाइ छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको