काठमाडौं, कार्तिक ११ गते ।
सम्भावित भारी वर्षा तथा त्यसबाट हुन सक्ने बाढी, पहिरो र डुबानलगायतका विपद्को जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा राखिएको छ ।
नेपाल मौसम विज्ञान विभागले कात्तिक १२ गतेदेखि १४ गतेसम्म देशका विभिन्न स्थानमा चट्याङ, हावाहुरीसहित मध्यमदेखि भारी वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान सार्वजनिक गरेपछि स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा राखिएको हो ।
यस सम्बन्धमा स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाइले सातै प्रदेशका प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रलाई पत्राचार गर्दै आवश्यक स्वास्थ्य सेवा तथा प्रतिकार्य क्षमता तयारी अवस्थामा राख्न आग्रह गरेको छ ।
इकाइका प्रमुख डा. हेमन्त चन्द्र ओझाले पठाएको पत्रमा प्रत्येक प्रदेशमा चौबिसै घण्टा सम्पर्कमा रहने एक जना आपतकालीन सम्पर्क व्यक्ति (इमर्जेन्सी फोकल पर्सन) तोक्न, उनको सम्पर्क विवरण इकाइमा उपलब्ध गराउन तथा सार्वजनिक गर्न भनिएको छ ।
त्यसैगरी सम्बन्धित हब तथा स्याटेलाइट अस्पताल सञ्जालसँग समन्वय गरी आकस्मिक चिकित्सकीय टोली (ईएमटी)सहित आवश्यक स्वास्थ्य जनशक्तिलाई तयारी अवस्थामा राख्न आग्रह गरिएको छ ।
स्वास्थ्य क्षेत्रका साझेदार निकायसँग समन्वय गरी उपलब्ध जनशक्ति, औषधि, स्वास्थ्य सामग्री, उपकरण, एम्बुलेन्स तथा अन्य स्रोतसाधनको विवरण अद्यावधिक गर्न पनि भनिएको छ ।
विपद्का बेला घाइते तथा प्रभावित नागरिकलाई समयमै स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेशमा रहेका एम्बुलेन्स प्रेषण केन्द्रसँग निरन्तर समन्वय गरी एम्बुलेन्स सेवाको सहज, शीघ्र र प्रभावकारी परिचालन सुनिश्चित गर्नुपर्ने पत्रमा उल्लेख छ ।
इकाइले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित घटना तथा अवस्थाको विवरण दैनिक रूपमा ‘जिरो रिपोर्टिङ’ वा ‘इन्सिडेन्ट रिपोर्टिङ’ मार्फत अनिवार्य रूपमा पठाउन पनि सबै प्रदेशका केन्द्रलाई आग्रह गरेको छ ।








