४० वर्ष बगर बनेको खेतमा लहलह धान

चितवन, कार्तिक १४ गते ।

फाँटै पहेँलपुर बनाइरहेका धान । त्यही फाँटमा खेतको डिलमा उभिएर पाक्दै गरेको धान हेर्ने दैनिकी बनेको छ, पवित्रा गुरुङको ।

धानका बाला झुल्दा उनलाई खेत छोड्नै मन लाग्दैन । धान हेर्न खेतमै आइपुग्ने पवित्रा एक्ली भने होइनन् । उनका छिमेकीहरू कोही धानका बाला सुम्सुम्यारहेका भेटिन्छन् त कोही खेतको अवस्थाबारे कुरा गर्छन् ।

यो चितवनको इच्छाकामना गाउँपालिका–७, सिमलढापको कथा हो । चार दशक पहिले पनि यहाँ चैते धान र वर्षे धान फल्थ्यो । मलिलो खेतमा लहलहाएको धान हेरेर परिवारले वर्षभरि खान पुग्ने अन्नको हिसाब गर्थे ।

किसानको त्यो सपना २०४१ साल असोज १ गते बिहान आएको एउटा भीषण बाढीले क्षणभरमै बगाइदियो । धान भित्राउने तरखरमा रहेका स्थानीयको ३३ बिघा खेतमा हेर्दाहेर्दै ढुंगा, गिट्टी र बालुवा थुप्रियो ।

खगेरी खोलाको माथिल्लो तटीय क्षेत्रमा रहेको खहरे खोलामा आएको बाढीले खेत मात्रै बगाएन, ३२ घर समेत बगायो । घरखेतसँगै अन्नपात, भाँडाकुँडा र पशुचौपाया पनि बगे ।

चार दशकपछि त्यही बगरमा फेरि धान झुलेको छ । बाढीले बगरमा परिणत गरिसकेको खेतबाट कसरी किसानका भकारीमा धान भित्रिए रु त्यो चर्चा गर्नुभन्दा पहिला त्यही विनासकारी बाढीकै चर्चा गरौं ।

असोज महिनाको पहिलो दिन आएको बाढी प्रत्यक्ष देखेका स्थानीय कृष्णप्रसाद श्रेष्ठ अझै पनि घटना सम्झँदा भावुक हुन्छन् । बाढीमा बगेका मानिसलाई बचाउन उनी आफैँ खटिएका थिए । तर, सबैलाई बचाउन नसकेको पीडाले अहिले पनि उनको गला अवरुद्ध हुन्छ ।

‘शिकारी कुना छेउमा पाँचवटा घर थिए । बाढीले ती घरलाई पल्टाउँदै बगायो । घरभित्र मान्छे थिए । तर, अर्को घरका बालबालिकालाई तार्ने काम हुँदै थियो, उता श्रीमान्–श्रीमती दुई जनालाई नै बगायो,’ उनी सम्झन्छन्, ‘आँखै अगाडि बगाउँदा हेर्न मात्रै सकियो ।’

बाढीको पानी विस्तारै घट्दै गयो । तर, त्यसले छाडेको क्षति घटेन । घरहरू सबै बगे । घरसँगै पशुचौपाया, अन्नपात र भाँडाकुँडा केही रहेन् ।

बाढी आउनुअघि स्थानीयले यही खेतमा वर्षमा दुई खेती गर्थे—चैते धान र वर्षे धान । जग्गाको मूल्य पनि राम्रो थियो ।

खेत बगर बनेपछि स्थानीयको जीविकोपार्जनको आधार नै सकियो । नम्बरी जग्गा भएर पनि उत्पादन लिन नपाउने अवस्था आयो । परिवार पाल्न गाह्रो भयो । कोही बसाइँ सरेर गए । कोही काम खोज्दै बजार पुगे ।

स्थानीय पार्वती गुरुङ आफू २०६० सालमा भरतपुरबाट विवाह भएर आउँदा खेत भनिएको ठाउँमा बालुवा र ढुंगा बाहेक केही नभएको सम्झन्छिन् । उनी भन्छिन्, ‘कतै कतै काँस पलाएको थियो । त्यही बाख्रा चराउन लग्थे ।’

पानी सम्झदा पनि तसिर्ने यहाँका स्थानियले बिस्तारै पानीको महत्त्व बुझ्न थाले । पानीको मुहान र सञ्चित गर्ने ठाउँ बनाउने, खोलाको बहाव व्यवस्थापन गर्ने र खेतसम्म सिँचाइ पु‍र्याउने विषयमा छलफल गर्न थाले । स्थानीय प्रेमबहादुर श्रेष्ठ त्यही प्रयासको एउटा महत्वपूर्ण संरचना—जैविक पोखरी वा रिचार्ज पोखरी—देखाउँदै पानी सञ्चित गर्ने काम गरेको बताउँछन् ।

‘यो पोखरीको नाम रिचार्ज पोखरी दिएका छौं । यो पोखरीले वरपर भएका बोटबिरुवालाई रिचार्ज गर्ने, सुख्खा जमिन हुन नदिने र बोट बिरुवा उमार्ने हुर्काउन सहयोग गर्यो,’ प्रेमबहादुर भन्छन् ।

बोट बिरुवा हुर्कदै गएपछि सामुदायिक वनको अवधारणा आएको उनी बताउँछन् । उनका अनुसार पोखरीमा सञ्चित भएको पानीलाई कसरी खेतसम्म पुर्याउने भन्ने विषयमा स्थानीयले सल्लाह गरे ।

सामुदायिक वनको अगुवाइमा विश्व वन्यजन्तु कोषको सहकार्यमा खगेरी जलाधार क्षेत्रमा प्रकृतिमा आधारित समस्या समाधान कार्यक्रमले सिंचाइको लागि कुलो बनाउन सहयोग गरेको छ । बगरमा परिणत भएको जमिनलाई पुरानै अवस्थामा फर्काउने उद्देश्यसहित पानी सञ्चित गर्ने पोखरी, कुलो र खोलाको बहाव व्यवस्थापनमा काम भइरहेको छ।

प्रेमबहादुरका अनुसार दुई वर्षदेखि कुलो निर्माण तथा व्यवस्थापनको काम भइरहेको छ । तर, सबै ठाउँमा सिँचाइ सुविधा भने पुगिसकेको छैन । कतिपय जमिन अझै खेतीयोग्य बनाउन बाँकी छ ।

खेतमा आवश्यकताअनुसार पानी लैजाने र आवश्यक नपरे खोलामा फर्काउने व्यवस्था गरिएको छ । खोलाको बहाव व्यवस्थित गर्न ड्याम बनाइएको छ । कुलोबाट खेतखेतमा पानी पु‍र्याउने र पानीको आवश्यकता नहुँदा खोलामै पठाउने अभ्यासले खेतीलाई सहज बनाएको पार्वतीको भनाइ छ ।

कुलोको नियमित मर्मतसम्भार पनि स्थानीयकै जिम्मेवारी बनेको छ । वर्षमा तीनपटक कुलो सफा गर्ने गरिएको छ ।

पानी सञ्चित गर्ने पोखरी बनेपछि र कुलोमार्फत खेतसम्म पानी पुर्याउन थालिएपछि भने परिस्थिति बदलिन थाल्यो ।

स्थानीय पार्वती श्रेष्ठले दुई परिवारले दुई बाली धान लगाएर भित्र्याएको बताइन् । उनी भन्छिन्, ‘४१ वर्षसम्म बगर बनेको खेतमा धान फलेको देखेपछि स्थानीयले धान मुसार्न थालेका हुन ।’


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको