काठमाडौं, कार्तिक २० गते ।
तिहारको अवधिभर काभ्रेपलाञ्चोकका मुख्य तथा सहायक सडकहरूमा टिपर सञ्चालनमा रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकले सूचना जारी गर्दै तिहारको अवधिभर टिपर सञ्चालनमा रोक लगाइएको जनाएको हो ।
जिल्ला सुरक्षा समिति, काभ्रेपलाञ्चोकको बैठकको निर्णय अनुसार चाडपर्वका बेला सडकमा हुने सवारी चाप र त्यसबाट सिर्जना हुनसक्ने दुर्घटनाको जोखिमलाई न्यूनीकरण गर्न तथा यात्रुबाहक सवारी साधनहरूको आवागमनलाई सहज बनाउन टिपर सञ्चालनमा रोक लगाइएको काभ्रे प्रशासनले जनाएको छ ।
निर्णय अनुसार कात्तिक २२ गते बिहान ५ बजे देखि कात्तिक २६ गते बेलुका ९ बजेसम्म जिल्लाभित्रका मुख्य र सहायक सडकहरूमा टिपर सञ्चालन गर्न रोक लगाइएको हो ।
निर्णयअनुसार सम्बन्धित सबैलाई उक्त अवधिभर टिपर सञ्चालन नगर्न र नगराउन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।








