तनहुँ, मंसिर १० गते ।
तनहुँको आँबुखैरेनी र चितवनको भरतपुर महानगरपालिका जोड्ने त्रिशूली नदीमाथि घुमाउने पुल निर्माणका लागि स्थानीयले दबाब बढाएका छन् । पुल निर्माणमा देखिएको अवरोध हटाइ तत्काल काम अगाडि सम्बद्ध निकायलाई आग्रह गरेका छन् ।
पुल निर्माणमा भएको प्रगति र पछिल्लो अवस्थाबारे जानकारी लिन स्थानीय अगुवा सिद्धान्त थापा मगरले सडक डिभिजन कार्यालय दमौलीका प्रमुख राजीव श्रेष्ठ र इन्जिनियर राजेन्द्र रेग्मीसँग छलफल गरेका छन् । आँबुखैरेनी गाउँपालिका–५ र भरतपुर महानगरपालिका–२९ जोड्ने घुमाउनेमा १२ वर्ष अगाडि निर्माण सुरु गरिएको पुल अलपत्र अवस्थामा छ ।
सडक डिभिजन कार्यालयका प्रमुख राजीव श्रेष्ठले पुरानै ठाउँ वा नयाँ ठाउँबाट पुल निर्माण गर्ने विषयमा अध्ययन भइरहेको जानकारी दिए । त्यसका लागि चालु आर्थिक वर्षमा एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
डिभिजन कार्यालयले घुमाउनेको पुलको ठेक्का तोडिसकेको छ । तोकिएको अवधि र थपिएको म्यादमा काम सम्पन्न नगरेको र पटक–पटक निर्देशन दिएको भएपनि निर्माण व्यवसायीले चासो नदेखाएपछि गत वैशाखमा ठेक्का तोडिएको थियो ।
घुमाउनेमा पुल नबन्दा यस भेगका जनताले सास्ती खेपिरहेको र पटक–पटक मन्त्री, सांसद, सडक डिभिजनमा ध्यानाकर्षण र सरोकारवाला निकायमा पुगी घेराउ गरेका थिए ।
पुल निर्माण थालिए पनि अहिलेसम्म दुईतिरको भागमा पिल्लर मात्रै ठडिएको छ । मृत सञ्जीवनी निर्माण कम्पनी हेटौँडासँग पहिलो पटक २०७० साल असारमा पुल निर्माणका लागि सम्झौता भएको थियो ।
बारम्बारको म्याद थप र डिजाइन परिवर्तनपछि २०७५ साल माघमा निर्माणका लागि पुनः सम्झौता भएको थियो । सम्झौताअनुसार, २०७८ साल चैतमा पुल निर्माण सकिनुपर्ने थियो । हालसम्म करिब ३६ प्रतिशत मात्रै काम भएको सडक डिभिजन कार्यालयले जनाएको छ ।
गण्डकी प्रदेशको राजधानी पोखरा र चितवन सहजै आवातजावत गर्ने उद्देश्यका साथ घुमाउनेघाटमा पुल निर्माण थालिएको थियो । तनहुँको सदरमुकाम दमौली स्थित व्यास नगरपालिका–१ निर्मलनगरबाट सुरु हुने बुद्धसिं मोटरमार्ग सेती र मादी नदीको किनार हुँदै क्रमशः व्यास १३, व्यास १४, बन्दिपुर ६, आँबुखैरेनी ५ हुँदै जान्छ । सो सडक मुग्लिन–नारायणगढ सडकमा जोडिन्छ ।
देवघाट गाउँपालिकाअन्तर्गत वडा नम्बर २, ३ र ४ का नागरिक लाभान्वित हुने सो सडक पृथ्वी राजमार्गको मुग्लिन सडकखण्ड भन्दा २३ किलोमिटर छोटो छ ।
गण्डकी प्रदेशलाई चितवनको नारायणगढसम्म जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंमार्गको घुमाउनेको उक्त मोटरेबल पुलको निर्माण सम्पन्न भएपछि वैकल्पिक मार्गबाट पोखरा र दमौलीसँग नारायणगढ जोडिन्छ । हाल मोटरेबल पुल नहुँदा यातायातका साधन तनहुँकै सिमानामा पुगेर फर्कन बाध्य छन् । मोटरसाइकल भने डोहोर्याएर मुग्लिङ नारायणगढ सडक खण्डसम्म ल्याउन सकिन्छ । रासस








