काठमाडौं, भदौ २५ गते ।
सर्वोच्च अदालत अझै जलिरहेको छ । काठमाडौंमा मंगलबार प्रदर्शनकारीहरूले अदालतभित्रै प्रवेश गरी आगजनी गरेका थिए । अदालतमा लागेको आगो बुधबार बिहानसम्म निभेको छैन । भवनबाट धुवाँको मुस्लो छुटिरहेको छ ।
सर्वोच्च अदालतमा बिहान पुग्दा त्यहाँ कर्मचारीहरू शोकमग्न भएर वरिपरि उभिरहेका थिए । अब दमकल ल्याएर आगो निभाउन पनि त्यसको उपादेयता नै नरहेको भनिरहेका थिए ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले ६० हजार वटा मुद्दाका फाइल जलेर नष्ट भएको बताए । अहिले पनि मिसिलहरू जलिरहेका छन् ।
उनले एनेक्स भवन भएपनि जोगाउन अपिल गरेका छन् ।
सर्वोच्च परिसरभित्रै पर्ने एनेक्स भवनमा महत्वपूर्ण कागजात रहेकाले त्यसलाई भएपनि जोगाउन उनले अपिल गरेका हुन् । त्यहाँ फैसला भइसकेका अभिलेख शाखा समेत छ ।
‘त्यहाँ फैसला भइसकेका अभिलेखहरू रहेको शाखा छ । पुरानो मिसिलहरू पनि छन् । त्यसलाई जोगाउन पाए इतिहास रहन्थ्यो,’ उनले भने, ‘अहिलेसम्म सुरक्षित नै छ। सम्पादन शाखामा भएका किताबहरूमा आगो लागिरहेको छ ।’
चौथो तलामा सूचना प्रविधि महाशाखा प्रधानन्यालयका केही फैसलाहरू जलेको उनले बताए । सुरक्षा गर्ने, आगलागी नियन्त्रण गर्ने लगायत कुनै पनि माध्यम बाँकी नरहेको ती कर्मचारीले बताए ।








