पब्लिक सन्देश
गौशाला, असोज ४ गते ।
जनमत पार्टीबाट कारबाहीमा परेका तथा अलग भएका नेताहरूले शनिबार जनकपुरमा ुजनस्वराजु पार्टी गठन गरेका छन् ।
डा. सञ्जयकुमार साहको अध्यक्षतामा मधेस प्रदेशको राजधानी जनकपुरमा दुई दिनसम्म चलेको बैठकबाट नयाँ पार्टी गठन गरेका हुन् ।
पार्टी अध्यक्ष कसैलाई नबनाएको सम्यक् समाजका लागि सामूहिक नेतृत्वमा पार्टी सञ्चालन गर्ने भएको ई.दीपक साहले बताए । उनले भने, ‘पार्टी सञ्चालनका लागि विभिन्न विभागहरू गठन गर्छौँ, त्यो विभागको जिम्मेवारी दिएर पार्टी सञ्चालन गर्छौँ ।’
बैठकबाट पार्टी गठनसँगै तीन वटा विभाग पनि गठन गरिएको छ । ई. दिपक साहलाई राजनीतिक संगठन विभागको जिम्मेवारी दिइएको छ भने ई.सुरेन्द्रनारायण यादवलाई आर्थिक विभागको जिम्मेवारी दिइएको छ । त्यस्तै प्रशिक्षण विभागको जिम्मेवारी डा. सञ्जयकुमार साहलाई दिइएको छ ।
पार्टीका गतिविधिहरू विभिन्न विभागमा जिम्मेवारी दिएर बढाइने नेता दिपक साहले बताए । यसैगरी अन्य नेताहरूलाई पनि विभागीय जिम्मेवारी दिने तयारी भइरहेको उनले बताए । दीपक साह यसअघि जनमत पार्टीमा उपाध्यक्ष तथा अनुशासन समिति संयोजक थिए भने ई. यादव कोषाध्यक्ष थिए । दुवैलाई जनमत पार्टीका अध्यक्ष राउतले कारबाही गरेर निकालेका हुन् ।
यता, जेनजी आन्दोलनपछि जनमतका उपाध्यक्ष अब्दुल खानको नेतृत्वमा केही नेताले विद्रोह गरेर पार्टी छाडेका थिए । हाल उनीहरू गठन भएको नयाँ पार्टीमा त छैनन् तर नयाँ पार्टीसँग निरन्तर कुराकानी भने भइरहेको नेता दीपक साहले जानकारी दिए ।
जनस्वराज पार्टीले व्यक्तिवाद नभई सामूहिक सहभागिता, राजनीति नभई, सेवा गर्ने प्रतिबद्धता, पद नभई, जिम्मेवारी र जवाफदेहिता, विभाजन नभई, एकता र समानताका लागि प्रतिबद्धता जनाएको छ ।
यो पार्टीले जनताले आफ्नो शासन आफै गर्ने व्यवस्था, इमानदार, जवाफदेही र साझा नेतृत्वको मार्गदर्शनको दृष्टिकोण तय गरेको छ ।
पूर्ण समानुपातिक निर्वाचन प्रणाली, बेथिति, भ्रष्टाचारमुक्त, पारदर्शी र जवाफदेही राजनीतिक स्थापना गराउनुको साथै स्थानीय स्वायत्तता र जनताको प्रत्यक्ष सहभागितासहित कार्यकारी राष्ट्रपति प्रणाली अवलम्बन गर्नेलगायत उद्देश्य बोकेको छ ।








