एड्ससँगै यौन रोगको समस्या बढ्न थाल्यो

चितवन, मंसिर १५ गते ।

जिल्लामा भएका एचआईभी एड्सका संक्रमितमध्ये यौन रोग संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ । यहाँ रहेका एचआईभी एड्स संक्रममितमध्ये ३५ जनामा यौन रोग देखिएको पाइएको छ ।

भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा. प्रमोद पौडेलका अनुसार विगत १० महिनामा गरिएको एक हजार ४० जनाको परीक्षणका क्रममा सो संख्यामा यौन रोगी भेटिएको हो । उनीहरूलाई भिरिङ्गी रोग देखिएको हो । उनका अनुसार असुरक्षित यौन सम्पर्क गर्दा संक्रमितमा यौन रोग बढ्न थालेको हो ।

अस्पतालका अनुसार एड्स सङ्क्रमितमध्ये सात जनामा क्षयरोग देखिएको छ । त्रियानब्बे जनाको परीक्षणका क्रममा सो संख्यामा यो रोग देखिएको हो । जिल्लामा हाल एक हजार दुई सय ४३ जना एड्स संक्रमित रहेका छन् । जसमध्ये ३४ जनाले माडीको बघौडा अस्पतालबाट औषधि सेवन गरिरहेका छन् भने एक हजार २०९ जनाले भरतपुरमा रहेको एआरटी सेन्टरबाट औषधि सेवन गर्दै आएका छन् ।

विगत १० महिनामा जिल्लाका विभिन्न स्थानमा गरिएको परीक्षणका क्रममा ६६ जना नयाँ संक्रमित भेटिएको पौडेलले जानकारी दिए । दुई सय ८५ जनाको परीक्षणका क्रममा सो संख्यामा एड्स संक्रमित भेटिएको उनले बताए ।

उनका अनुसार यस अवधिमा भरतपुर अस्पतलाको एआरटी सेन्टरमा औषधि सेवनका लागि १०४ जना बिरामी थपिएका छन् । यहाँ थपिएका नयाँ संक्रमितसहित अन्य जिल्लाबाट स्थानान्तरण भएका बिरामीसमेत यहाँबाट सेवा लिने गरेको उनले बताए ।

भरतपुर अस्पतालमा रहेको एड्स हेल्थ फाउण्डेसनका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाका अनुसार यहाँबाट औषधि खाँदै आएका ६५ जना बिरामी स्थानान्तरण भएका छन् । अठ्ठाइस् जनाले औषधि सेवन गर्न छाडेको उनले जानकारी दिए । यहाँ रहेका संक्रमितमध्ये १३ जनाको मृत्यु भएको उनले बताए ।

एड्स रोग लागेका संक्रमितलाई हेर्ने दृष्ट्रिकोणमा अझै परिवर्तन आउन नसकेको उनले बताए । संक्रमितहरूलाई उपचारका लागि अस्पताल ल्याउनका लागि एम्बुलेन्सहरूलेसमेत गाह्रो मान्ने गरेका उनको भनाइ छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको