मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

जनकपुर, वैशाख ३० गते ।

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विद्यालय शिक्षा व्यवस्थापन गुणस्तरयुक्त र प्रभावकारी बनाउन सम्बद्ध पक्षलाई निर्देशन दिएको छ ।

उनले आज धनुषाको हङ्सपुर नगरपालिकाका दुई सामुदायिक विद्यालयको अनुगमन गरी विद्यमान बेथिति तथा विसङ्ति हटाउन पालिका पदाधिकारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक तथा शिक्षकहरूलाई निर्देशन दिए ।

मुख्यमन्त्री सिंहले अनुगमनका क्रममा उक्त नगरपालिका–२ स्थित राष्ट्रिय प्राथमिक विद्यालय, बघचौँडामा निजी विद्यालयमा अध्ययनरत रहेका विद्यार्थीको नाम देखाएर तिनका नाउँबाट छात्रवृत्ति तथा खाजा सुविधा उपलब्ध गराइएको फेला परेको बताए । विद्यार्थी सङ्ख्याका आधारमा सामुदायिक विद्यालयलाई सरकारले आवश्यक छात्रवृत्ति र खाजा खर्च उपलब्ध गराउने गरेको छ ।

शिक्षाविद् गुरु सुवेदीले नक्कली विद्यार्थी कायम गरेर विद्यालयले छात्रवृत्ति, खाजालगायत विभिन्न छ–सातवटा शीर्षकमा सरकारबाट प्राप्त रकम दुरुपयोग भइरहेको बताए । उनले नक्कली विद्यार्थीको विवरण विद्यालय शिक्षा व्यवस्थापन सूचना प्रणालीमा राखेर रकम निकासा गराउनु भ्रष्टाचार भएको भन्दै त्यसमा संलग्नलाई कारबाहीका माग गर्नुभयो ।

मुख्यमन्त्री सिंहले नक्कली विद्यार्थी कायम गरेर सरकारी साधनस्रोतको दुरुपयोग गम्भीर विषय भएकाले यसलाई नियन्त्रण तथा नियमन गर्न सम्बन्धित निकायमा पत्राचार गर्न प्रदेश शिक्षा निर्देशक महेन्द्र महतोलाई निर्देशन दिए ।

यसैगरी मुख्यमन्त्री सिंहले आजै सोही नगरपालिका–८ झटियाहीस्थित श्री मिथिला तिलक नन्दकुमारी कार्की माध्यमिक विद्यालयको समेत अनुगमन गरिएको छ । विद्यार्थीको अत्यधिक चाप रहने माध्यमिकस्तरको विद्यालयमा शौचालयजस्ता आधारभूत संरचना नहुनु दुःखद भएको भन्दै उनले व्यवस्थापनका लागि तत्काल पहल गर्न नगर उपप्रमुख दुर्गीदेवी मण्डलको ध्यानाकर्षण गराए ।

उपप्रमुख मण्डलले शौचालय निर्माणका लागि रकम निकासा भइसकेको र यसै आर्थिक वर्षमा शौचालय निर्माण गरिने जानकारी गराए ।

मधेश प्रदेश, शिक्षा तथा संस्कृति मन्त्रालयले प्रदेशका एक सय ३६ वटै पालिकालाई एक महिना अगाडि पत्राचार गरी सामुदायिक विद्यालयको शिक्षण प्रणालीमा सुधार ल्याउन सुझावसहित ध्यानाकर्षण गराएको थियो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको