धनुषा, फागुन २३ गते ।
धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले जनकपुरधामको विकास र पहिचानलाई नयाँ उचाइमा पुर्याउने उद्घोष गरेका छन् । जनकपुर रेल स्टेसनमा आयोजित विशेष धन्यवाद सभालाई सम्बोधन गर्दै झाले आफूलाई प्राप्त मत केवल विजयको प्रतीक मात्र नभएर गहिरो जिम्मेवारीको भारी भएको उल्लेख गरे ।
निर्वाचनको परिणाम सार्वजनिक भएपछि पहिलो पटक मतदातासामु पुगेका झाले आफू राजधानी र सत्ताको शक्तिमा अल्झिने भीआईपी नेता बन्न नआएको बरु जनताको सुख(दुःखमा साथ दिने वास्तविक प्रतिनिधिको रूपमा काम गर्ने दृढता व्यक्त गरे ।
उनले जनकपुरको ऐतिहासिक र धार्मिक गरिमालाई विश्वव्यापी बनाउन आफ्नो कार्यकालमा विशेष पहल गर्ने प्रतिबद्धता समेत जनाए । जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन आवश्यक सम्पूर्ण प्रक्रिया र लबिङलाई प्राथमिकतामा राख्ने बताउँदै उनले जनकपुरको खस्कँदो सरसफाइ अवस्थालाई सुधार्नु आफ्नो मुख्य एजेन्डा रहेको प्रस्ट पारे । सरसफाइ र पूर्वाधार विकासमा स्थानीयको सहकार्य खोज्दै उनले जनकपुरलाई सफा र सुन्दर पर्यटकीय नगरी बनाउने योजना अघि सारेका छन् ।
विजयको उन्मादमा रहेका आफ्ना कार्यकर्ताहरूलाई संयमित रहन निर्देशन दिँदै झाले निर्वाचनलाई दुष्मनी नभई स्वस्थ प्रतिस्पर्धाको रूपमा लिन आग्रह गरे । उनले कसैप्रति पनि दम्भ र अहंकार प्रदर्शन नगर्न सचेत गराउँदै अबको समय सबै मिलेर क्षेत्रको विकासमा लाग्ने बेला भएको बताए। राजनीतिक प्रतिस्पर्धा निर्वाचनसँगै सकिएको र अबको यात्रा साझा समृद्धिको हुनुपर्नेमा उनको जोड थियो । रातोपाटी








