फिर्ता बोलाइए दलीय भागबन्डामा नियुक्त ६ राजदूत

जनकपुर, चैत्र २४ गते ।

सरकारले भारतसहित ६ देशमा कार्यरत राजदूतलाई फिर्ता बोलाएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक पृष्ठभूमिका आधारमा कार्यरत राजदूतलाई एक महिनाभित्र राजदूत फिर्ता बोलाउने निर्णय गरेको हो ।

परराष्ट्र मन्त्रालयले चिठी लेखेर राजदूतहरूलाई सोमबारदेखि लागू हुने गरी एक महिनाभित्र फिर्ता हुन भनेएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले ६ जना राजदूत फिर्ता गर्ने सरकारी निर्णय भएको जानकारी दिए ।

फिर्ता बोलाइएका राजदूतहरूमा डा. शंकरप्रसाद शर्मा (भारत), चित्रलेखा यादव (अस्ट्रेलिया), डा. पूर्णबहादुर नेपाली (श्रीलंका) डा. शिवमाया तुम्बाहाङ्फे (दक्षिण कोरिया), सुम्निमा तुलाधर (डेनमार्क) र कपिल श्रेष्ठ (दक्षिण अफ्रिका) छन् ।

राजदूत शर्मा, यादव, नेपाली र श्रेष्ठ कांग्रेसको कोटाबाट तथा तुम्बाहाङ्फे र तुलाधर एमाले कोटाबाट नियुक्त भएका थिए । केपी ओली नेतृत्वको सरकारले उनीहरूलाई राजदूतमा सिफारिस गरेको थियो ।

सुशीला कार्की नेतृत्वको अघिल्लो सरकारले ३० असोजमा ६ जनालाई छाडेर ११ राजदूत मात्रै फिर्ता गरेको थियो । ओली नेतृत्वको सरकारले १४ साउन ०८१ मा सिफारिस गरेका १० र त्यसअघिको सरकारले सिफारिस गरेका एक गरी ११ राजदूत फिर्ता भएका थिए ।

राजनीतिक भागबण्डामै नियुक्त भए पनि महिला, जनजाति र दलित पृष्ठभूमिका राजदूतहरूलाई भने अघिल्लो सरकारले फिर्ता गरेको थिएन । अहिले रास्वपाका बालेन शाह नेतृत्वको सरकार बनेसँगै ती राजदूतलाई फिर्ता बोलाएको हो । योसँगै अब १७ देशका नियोग नेतृत्वविहीन भएका छन् । दृष्टि


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको