काठमाडौं, वैशाख २० गते ।
सरकारले सुकुमवासी बसोबास गर्दै आएको क्षेत्र खाली गरेपछि भत्काइएको भौतिक संरचनामा कवाडी संकलन गर्नेहरू बढेका छन् ।
अघिल्लो शनिबारदेखि सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थानका सुकुमवासीबाट हटाएको छ ।
थापाथली, गैरीगाउँ, शंखमूल, मनोहरा, बालाजु, बल्खु, टेकु, धोवीखोला आसपासका क्षेत्र लगायतबाट सुकुमवासीका घर टहरा भत्काइएको छ ।
कवाडी संकलन गर्नेहरू अहिले सुकुमवासी क्षेत्रमा भत्काइएका संरचनाबाट निस्केका सामग्री संकलन गर्ने कार्यमा व्यस्त भएका छन् ।
छड, इट्टा, संकलन गर्नेहरूको बाक्लो उपस्थिति अहिले खालि गरिरहेका स्थानमा देखिएको छ । शुक्रबार खालि गरिएको शंखमूलको सुकुमवासी क्षेत्रमा कवाडी संकलन गर्न आएका रौतहटका लालु रजकले दुई घरको छड संकलन शुल्क तिरेर निकालेको जानकारी गराए ।
उनले भने, ‘दुईटा घरको ३५३५ हजार दिने गरेर छड निकाल्न लागेका हौं ।’ यो क्षेत्रमा शुक्रबार १०७ घर भत्काइएको थियो ।
सुकुमवासी क्षेत्रबाट इट्टा संकलन गर्नेहरूको संख्या पनि उल्लेख्य छ । विशेषगरी महिलाहरूले इँट्टा सफा गरी संकलन गर्ने कार्यमा जुटेका छन् । साइकलमा कवाडी संकलन गर्नेहरूको खाली गरिएका सुकुमवासी बस्तीमा बाक्लो उपस्थिति छ ।








