घुम्तीगोठमा भेडा बाख्रापालन

बेनी, असार १२ गते । 
अन्नपूर्ण गाउँपालिका–७ घराम्दीका कुमार पुर्जाले घुम्तीगोठमा भेडा बाख्रापालन सुरु गर्नुभएको छ ।
रोजगारको सिलसिलामा साउदीमा १० वर्ष काम गरेर स्वदेश फर्कनुभएका पुर्जाले गाउँमै स्वरोजगार बन्ने लक्ष्य लिएर पशुपालन सुरु गर्नुभएको थियो । “खाडीमा पसिना बगाउँदा घरखर्च जुटाउनुबाहेक थप प्रगति गर्न सकिएन, आफ्नै गाउँठाउँमा मिहिनेत गरौँ भनेर भेडा बाख्रापालनमा लागेको हुँ ।  अहिले ६० वटा भेडा छन्, केही बाख्रा पनि पाल्दै आएको छु, लगानी धेरै नभएकाले भेडाबाख्राको सङ्ख्या विस्तारै बढाउँदै लगेको छु”, पुर्जाले भन्नुभयो ।
हिउँदमा बेँसी र वर्षामा बुकीतर्फ घुम्ती राखेर भेडाबाख्रालाई पालन गर्दै आउनुभएका पुर्जाले यसपटक गाउँपालिकाले घुम्ती गोठका लागि अत्यावश्यक सामग्री खरिदमा सहयोग गरेको बताउनुभयो ।
“पचास प्रतिशत लागत साझेदारीमा रु ४० हजारबराबरको त्रिपाल, सोलार, लाइटलगायत सामग्री खरिद गरेको छु, । पालिकाले दिएको अनुदानले सामान खरिदमा राहत भएको छ, पशुपालन दुःख र परिश्रमको पेसा भएकाले सरकारी तवरबाट निरन्तर प्रोत्साहन हुन आवश्यक छ”, उहाँले भन्नुभयो ।
पुर्जाले सञ्चालन गर्नुभएको कुमार कृषि तथा पशुपन्छी बहुउद्देश्य फार्मलाई तीन वर्षअघि अन्नपूर्ण गाउँपालिकाले बाख्राको खोर बनाउन अनुदान दिएको थियो ।
अन्नपूर्ण गाउँपालिका–१ का मनबहादुर पुर्जाले घुम्ती गोठका सामान किन्नका लागि पालिकाले दिएको अनुदानले राहत भएको बताउनुभयो ।
विगत ३५ वर्षदेखि घुम्तीगोठमा भेडापालन गर्दै आउनुभएका पुर्जाले गोठ सारिरहनुपर्ने भएकाले त्रिपाल, सोलार, लाइटलगायत अत्यावश्यक सामग्री हरेक वर्ष खरिद गर्नुपर्ने बाध्यता रहेकाले यस वर्ष गाउँपालिकासँगको साझेदारीमा रु ४० हजारबराबरको सामग्री खरिद गरेको जानकारी दिनुभयो ।
पुनम भेडा बाख्रापालन फार्म सञ्चालन गर्दै आउनुभएका पुर्जाले ४०० भेडा पाल्दै आउनुभएको छ । बेँसीदेखि हिमाली बुकीसम्म प्रशस्त चरन क्षेत्र रहेकाले अन्नपूर्ण गाउँपालिकामा व्यावसायिक भेडापालनको लहर नै छाएको छ ।
केही समयअघिसम्म घुम्तीगोठको भेडा बाख्रापालन हराएर जाने अवस्थामा पुगे पनि अहिले भने युवापुस्ता भेडा बाख्रापालनमा लागेको पुर्जाले बताउनुभयो । “यो वर्ष केही नयाँ गोठ थपिएका छन्, दुःखको पेसा भएकाले घुम्ती गोठमा बस्न सहज छैन, आम्दानीभन्दा सङ्घर्ष धेरै गर्नुपर्छ, भेडाबाख्रा पालेर ठूलै आम्दानी गर्न नसकेपछि घरखर्च चलाउन र बालबच्चा पढाउन  भेडापालनको आम्दानीले थेग्छ”, उहाँले भन्नुभयो ।
अन्नपूर्ण गाउँपालिकाको दाना, दोवा, हिस्तान, पाउद्धारलगायतका ठाउँका स्थानीयले घुम्ती गोठ राखेर व्यावसायिक भेडा बाख्रापालन गर्दै आएका छन् । पछिल्लोपटक भेडा बाख्रापालनमा युवाको आकर्षण देखिएको छ ।
अन्नपूर्ण गाउँपालिका–३ का वडासदस्य लालबहादुर पुनले समेत भेडा बाख्रापालन सुरु गर्नुभएको छ । रोजगारको लागि विभिन्न खाडी मुलुकमा पुगेर काम गर्नुभएका पुनले गाउँ फर्किएर आफ्नो बुबाले सुरु गरेको भेडा बाख्रापालनलाई व्यावसायिक बनाउन जुट्नुभएको छ ।
गाउँपालिकाका विभिन्न क्षेत्रमा अहिले ५० वटा  घुम्ती भेडीगोठ सञ्चालनमा रहेको गाउँपालिका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो । “पर्यटन र जलविद्युत्पछि अन्नपूर्ण गाउँपालिका पशुपालन र कृषिमा सम्भावनायुक्त छ, हामीले कृषकलाई व्यावसायिक बनाउन प्रोत्साहन कार्यक्रम ल्याएका छौँ, यसले आगामी दिनमा पशुपालन र पशुजन्य उत्पादनमा पालिकालाई बलियो बनाउने अपेक्षा गरेका छाँै”, गाउँपालिका अध्यक्षपुनले भन्नुभयो ।
गाउँपालिकाले पशुपालनलाई व्यवस्थित र व्यावसायिक बनाउन घुम्ती गोठमा गरिने भेडा बाख्रापालनका लागि अनुदानमा अत्यावश्यक सामग्री वितरणसँगै घाँसका विरुवा, औषधि वितरण, उत्पादनमा आधारित अनुदान, भकारो सुधारलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको गाउँपालिका अध्यक्ष पुनले जानकारी दिनुभयो ।
अन्नपूर्णमा घुम्ती गोठमा भेडा बाख्रापालनसँगै चाँैरीपालन, गाईपालन, भैँसीपालन, कुखुरापालन, माछापालन, बङ्गुरपालनसमेत हुँदै आएको छ ।
गाउँपालिकामा  पशुपालनबाट मासुजन्य उत्पादनसँगै घिउ, ऊनलगायतका सामान अन्यत्र निर्यात हुने गरेको छ । गाउँपालिकामा रहेका पशुपालन फार्ममा हाल भेडा पाँच हजार २५५ वटा,  बाख्रा नौ हजार २६६ वटा,  भैँसी दुई हजार ३८४, गाई दुई हजार २५७ वटा र चौँरी ३७९ वटा रहेको पशु विकास शाखाले जनाएको छ ।
गाईभैँसीपालनगर्ने किसानलाई यस वर्ष वडा नं. २, ५, ६ र ७ मा भकारो सुधारका लागि रु १० हजारदेखि २० हजारसम्म अनुदान उपलब्ध गराइएको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको