काठमाडौं, असार १५ गते ।
त्रिभुवन विश्विद्यालयले आंगिक क्याम्पसहरूलाई राजनीति दलका विद्यार्थी संगठनका संरचना हटाउन पत्राचार गरेको छ।
विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका उपप्रशिक्षक सन्देशकुमार रेग्मीको हस्ताक्षर भएको उक्त पत्र त्रिविका सम्पूर्ण आंगिक क्याम्पसलाई सम्बोधन गरेर लेखिएको छ।
शिक्षा तथा खेलकुद मन्त्रालयले विश्वविद्यालय अनुदान आयोग र आयोगले निर्देशनालयलाई त्रिविबाट दलिय विद्यार्थि संगठनका संरचना हटाउन भन्दै निर्देशन आएको जानकारी पनि पत्रमा उल्लेख छ।
‘प्रस्तुत विषयमा विश्वविद्यालय अनुदान आयोगको पत्र संख्या २०८२/०८३ च.नं. २००३ मिति २०८३/०३/१० को प्राप्त पत्रमा संलग्न शिक्षा तथा खेलकुद मन्त्रालयको पत्र संख्या २०८२/०८३ च.नं. ५४९ मिति २०८३/०३/०९ को पत्रको तपसिलमा उल्लिखित बुँदा नं. (ख) मा “शिक्षा क्षेत्रमा दलीय हस्तक्षेप, विद्यार्थीको वास्तविक आवाज नसम्मेटिने र शैक्षिक गुणस्तर गिरावटको समस्या समाधान गर्न ६० दिन भित्र विद्यालयरविश्वविद्यालय हाताबाट दलीय विद्यार्थी संगठनका संरचना हटाई ९० दिन भित्र Student Council/Voice of Student संयन्त्रको विकास गर्नुपर्ने” भन्ने उल्लेख भई आएकोले सोही अनुसार गरी गराई यस निर्देशनालयमा यथाशिघ्र जानकारी गराउनु हुन निर्देशनानुसार अनुरोध गर्दछु,’ उक्त पत्रमा भनिएको छ।








