पब्लिक सन्देश
जनकपुर, असार १६ गते ।
महोत्तरीको मटिहानीस्थित नेपालको सबैभन्दा जेठो तथा ऐतिहासिक गुरुकुलका रूपमा परिचित राजकीय संस्कृत माध्यमिक विद्यालयमा अध्ययनरत वटुकहरूलाई पूर्व विद्यार्थी तथा शिक्षाप्रेमी व्यक्तित्वहरूको सहयोगमा ट्र्याकसुट ड्रेस र धोती वितरण गरेका छन् ।
मंगलबार मटिहानी नगरपालिकाका नगर प्रमुख हरिप्रसाद मण्डल, विद्यालयका पूर्व प्रधानाध्यापक अमिरीलाल मण्डल तथा प्रधानाध्यापक ईश्वरीप्रसाद पौडेलले संयुक्त रूपमा वटुकहरूलाई ट्र्याकसुट ड्रेस र धोती हस्तान्तरण गरेका हुन् ।
गुरुकुलका पूर्व विद्यार्थी तथा हाल काठमाडौंस्थित प्रोग्रेसिभ सेकेन्डरी स्कुलका प्रधानाध्यापक विष्णु पराजुलीले करिब ५० हजार बराबरको गुरुकुलको नाम र लोगो अंकित ट्र्याकसुट ड्रेस सहयोग गरेका हुन् । गुरुकुलमा अध्ययनरत वटुकहरूको दैनिक अध्ययन, खेलकुद तथा अन्य अतिरिक्त क्रियाकलापमा सहयोगले सहजता पुग्ने विश्वास व्यक्त गरिएको छ।
त्यसैगरी, मटिहानी–७ स्थित श्री या.ल.ना. विद्यापीठका उप–प्राध्यापक वैदिक सितारा मण्डलले सहयोगस्वरूप प्रदान गरेको ४० थान धोती समेत सोही कार्यक्रममा वटुकहरूलाई वितरण गरिएको छ ।
सहभागीहरुले गुरुकुलप्रति पूर्व विद्यार्थी र समाजका विभिन्न व्यक्तिहरूले देखाएको सहयोग तथा सद्भावले संस्कृत शिक्षा संरक्षण, प्रवर्द्धन र गुरुकुलको शैक्षिक वातावरण सुदृढ बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् । उनीहरूले आगामी दिनमा पनि यस्ता सहयोग र सहकार्यलाई निरन्तरता दिन आग्रह गरेका थिए।








