काठमाडौं, भदौ १९ गते ।
नेपाल लेयर्स कुखुरापालक संघले फार्म समर्थन बिक्री मूल्यमा पुनस् वृद्धि गरेसँगै बजारमा अन्डाको भाउले नयाँ रेकर्ड कायम गरेको छ ।
आज शुक्रबारदेखि लागु हुने गरी संघले सार्वजनिक गरेको नयाँ मूल्य सूची अनुसार सबै प्रकारका अन्डामा प्रतिक्रेट १५ रुपैयाँ वृद्धि गरिएको छ ।
यो वृद्धिसँगै अन्डाको फार्म मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । लागत मूल्यमा भएको वृद्धि र बजार माग सन्तुलनमा राख्न मूल्य समायोजन गर्नुपरेको संघको दाबी छ ।
यसअघि ४ भदौमा तोकिएको मूल्य अनुसार एक्सएल आकारको अन्डाको फार्म मूल्य प्रतिक्रेट ५ सय ९० रुपैयाँ रहेकोमा अहिले १५ रुपैयाँ बढेर ६ सय ५ रुपैयाँ पुगेको छ ।
त्यसैगरी ठूलो अन्डा प्रतिक्रेट ५ सय ७५ बाट ५ सय ९० रुपैयाँ पुगेको छ भने मिडियम अन्डाको मूल्य ५ सय ३५ बाट ५ सय ५० रुपैयाँ कायम भएको छ ।
सानो अन्डाको हकमा भने प्रतिपेटी ३ हजार २ सय रुपैयाँ नै यथावत राखिएको छ । यो फार्म मूल्य हो । उपभोक्ता मूल्य भने २५ रुपैयाँ तोकिएको छ ।
त्यस्तै मिडियम अन्डा दुई वटा खरिद गर्दा उपभोक्ताले ४५ रुपैयाँ ९प्रति गोटा साढे २२ रुपैयाँ० भुक्तानी गर्नुपर्ने छ ।
संघ सचिव मदन पोखरेलका अनुसार चितवनलाई मुख्य आधार मानी यो मूल्य देशभरिका लागि तय गरिएको हो ।
पछिल्लो समय कुखुराको दाना, औषधि र ढुवानी खर्चमा भएको निरन्तरको मूल्य वृद्धिका कारण किसान मर्कामा परिरहेको संघले बताउँदै आएको छ ।






