आँगनमै चापाकल, पानी छैन : २०० परिवार एउटै सबमर्सिबल पम्पको भरमा

सुरेश राय 
सिरहा, भदौ २५ गते ।

सिरहाको गोलबजार नगरपालिका–१२ बेतौनाकी ४५ वर्षीया चन्दरदेवी मुखियाको घरको आँगनमै चापाकल छ। तर, केही वर्षदेखि उक्त चापाकलबाट पानी आएको छैन । आफ्नै चापाकलले पानी दिन छाडेपछि उनीसहित स्थानीयवासी छिमेकी मोहन झाको घरमा जडान गरिएको ‘सबमर्सिबल पम्प’को भरमा पानीको जोहो गर्दै आएका छन्।

बेतौना–हरिपुरका करिब २०० घरपरिवारको अवस्था उस्तै छ। अधिकांशको आँगनमा चापाकल भए पनि पानी तान्न छाडेपछि अहिले गाउँभरिका मानिस एउटै बोरिङमा निर्भर हुनुपरेको छ। बिहान र बेलुका पानी भर्न स्थानीयको लामो लाइन लाग्ने गरेको छ। दुई बाल्टिन पानीका लागि समेत घण्टौँ कुर्नुपर्ने अवस्था रहेको स्थानीय बताउँछन्।

स्थानीय आशादेवी मुखियाले चापाकलबाट सहज रूपमा पानी निकाल्न सुपरसेसन ९विशेष० मोटर जडान गरेकी छन्। तर, मोटर जडान गरेको वर्षौं बितिसक्दा पनि पानी नआएको उनको भनाइ छ।

वडाध्यक्ष गणेश मुखियाको घरआँगन र बारीमा समेत दुईवटा चापाकल छन्। त्यसमध्ये एउटामा सुपरसेसन मोटर जडान गरिएको छ। तर, उनको घरमा पनि चापाकलले पानी तान्न छाडेको छ।

स्थानीय मोहन झाका अनुसार बेतौनामा पछिल्लो पाँच वर्षदेखि पानीको समस्या बढ्दै गएको छ। वर्षायाममा पर्याप्त पानी परे केही समय चापाकलमा पानी आउने गरे पनि यस वर्ष लामो समयसम्म वर्षा नहुँदा अवस्था झन् गम्भीर बनेको हो।

‘हाम्रोमा पछिल्लो पाँच वर्षदेखि पानीको समस्या छ। असार–साउनमा राम्रो पानी पर्दा मंसिर–पुससम्म चापाकलमा थोरै–थोरै पानी आउँथ्यो’, झाले भने, ‘तर, यस वर्ष लामो समयदेखि पर्याप्त पानी नपर्दा चापाकलबाट पानी आउनै छाडेको छ।’

खडेरीका कारण खेतमा धान सिँचाइ गर्न एकैपटक मोटर र दमकल सञ्चालन हुँदा भूमिगत पानीमा थप दबाब परेको झाको भनाइ छ । उनका अनुसार अधिकांश स्थानीय नुहाउन र कपडा धुनसमेत खेततर्फ जाने गरेकाले गाउँको एउटै सबमर्सिबल पम्पमा पानीको चाप केही कम छ । ‘खेतमा भएका मोटर र दमकल धान सिँचाइका लागि चलिरहेका छन्। नुहाउन र लुगा धुन पनि धेरैजसो मानिस चौरी (धानखेत_ जाने भएकाले यहाँ केही चाप कम छ’, झाले भने, ‘उताका मोटर नचल्ने हो भने एउटा समरसेवलले यो गाउँलाई धान्नै सक्दैन।’

तत्काल वैकल्पिक व्यवस्था नगरे बेतौनावासीले अझ ठूलो पानी संकट बेहोर्नुपर्ने उनको चेतावनी छ। वडाध्यक्ष गणेश मुखियाले अहिले घरायसी प्रयोजनकै लागि पानीको ठूलो समस्या देखिएको स्वीकार गरे। तर, वडाले प्रत्येक घरलाई छुट्टाछुट्टै समरसेवल उपलब्ध गराउन सक्ने अवस्था नरहेको उनले बताए।

‘घर व्यवहारमा चलाउने पानीकै ठूलो समस्या आएको छ। तर हामीले व्यक्ति–व्यक्तिलाई समरसेवल दिन सक्ने अवस्था वडाको छैन’, मुखियाले भने, ‘लामो समयको खडेरी र धानखेतमा भएका मोटरहरू एकैपटक चल्दा भूमिगत पानीको सतह झरेर चापाकलले काम गर्न छाडेका हुन्।’

गोलबजार नगरपालिकाले खानेपानी तथा सिँचाइका नाममा हरेक वर्ष करोडौँ रुपैयाँ खर्च गर्दै आए पनि घर–घरमा चापाकल वितरण गर्ने तथा साना–साना योजनामा बजेट छर्ने प्रवृत्तिले दीर्घकालीन समस्या समाधान नहुने स्थानीयसमेत रहेका पूर्व खानेपानी डिभिजनल इन्जिनियर देवनाथ महतो बताउँछन्।

‘अब घर–घरमा चापाकल बाँडेर मात्र खानेपानीको समस्या समाधान हुँदैन’, महतोले भने, ‘एउटा गाउँ वा टोललाई लक्षित गरेर सामूहिक बोरिङ, सानो ओभरहेड ट्याङ्की र व्यवस्थित वितरण प्रणाली निर्माण गर्न स्थानीय तहले दीर्घकालीन योजना बनाउनुपर्छ।’

यो वर्षको लामो खडेरीले बेतौनामा घरेलु प्रयोजनका लागि मात्र नभई कृषि उत्पादनमा समेत असर पार्ने देखिएको छ। पर्याप्त वर्षा नहुँदा खेतमा सिँचाइको माग बढेको छ भने भूमिगत पानीको अत्यधिक दोहनले खानेपानीका स्रोतसमेत सुक्दै गएका छन्।

बेतौना मात्र होइन, पछिल्ला वर्षमा तराई–मधेशका विभिन्न क्षेत्रमा भूमिगत पानीको सतह घट्दै जाँदा खानेपानीको संकट गहिरिँदै गएको विज्ञहरूको भनाइ छ।

चुरे क्षेत्रको अनियन्त्रित दोहन, अनियमित वर्षा, लामो खडेरी, भूमिगत पानीको अत्यधिक प्रयोग, परम्परागत पोखरी तथा जलाशयको अतिक्रमण र बढ्दो तापक्रमले पानीको प्राकृतिक पुनर्भरण प्रणाली कमजोर बनाएको जानकारहरू बताउँछन् । एकातिर बढ्दो गर्मी र अर्कोतिर घट्दो पानीको सतहले तराई–मधेशमा खानेपानी, कृषि र वातावरण तीनै क्षेत्रमा दोहोरो संकट निम्त्याउने जोखिम बढेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको