चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु

चितवन, असोज ९ गते ।

चितवनमा चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ४३ वटा सवारी दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कअनुसार गत साउन र भदौमा भएका ती दुर्घटनामा ८७ जना घाइते भएका छन् । साउनमा २३ वटा सवारी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो भने ६० घाइते भएका थिए । भदौमा २० वटा दुर्घटना हुँदा १० जनाको मृत्यु भएको थियो । यस्तै, २७ जना घाइते भएको कार्यालयका निमित्त कार्यालय प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक विष्णु थापाले जानकारी दिए ।

सोही अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने तीन हजार ५५२ वटा सवारीसाधनलाई कारबाही गरिएको छ । कारबाहीबाट रु ३१ लाख ४८ हजार ५०२ राजस्व सङ्कलन भएको थापाले जानकारी दिए ।

साउनमा एक हजार ८१० सवारीसाधनलाई कारबाही गरी रु १५ लाख ५१ हजार राजस्व सङ्कलन गरिएको थियो । भदौमा एक हजार ७४२ वटा सवारीसाधनलाई कारबाही गर्दा रु १५ लाख ९७ हजार ५०१ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।

यस्तै, आव २०८२÷८३ मा चितवनमा जम्मा ५४५ सवारी दुर्घटना भएका थिए । ती दुर्घटनामा १०५ जनाको मृत्यु भएको थियो भने ९०२ जना घाइते भएका थिए । गत आवमा ट्राफिक नियम उल्लङ्घन गर्ने २० हजार ८० सवारीसाधनलाई कारबाही गरिएको थियो । ती कारबाहीबाट एक करोड ७५ लाख ७७ हजार ५०३ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।

वरिष्ठ प्रहरी नायब निरीक्षक थापाले सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक जाँचलाई थप प्रभावकारी बनाउनुका साथै चालक तथा सर्वसाधारण लक्षित सचेतनामूलक कार्यक्रमलाई कडाइका साथ सञ्चालन गरिँदै आइएको बताए । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको