काठमाडौँ, असार ३ गते ।
प्रतिनिधिसभाको बैठक बिहीबार ११ बजे बस्ने भएको छ । ‘भिजिट भिसा’ प्रकरणको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निरन्तर सदन अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बिहीबारसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित गरिएको हो ।
आज दिउँसो १ बजे बस्ने भनिएको बैठक पटक पटक सूचना टाँसेर समय परिवर्तन गरिए पनि बस्न सकेन । सदन सञ्चालन गर्नेबारे नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेकपा (एमाले) बीच दुईबुँदे सहमति भएको छ । तर, रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बैठक अवरोध गर्दै आएका छन् । रासस








