भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ, कार्तिक १ गते ।

विवादास्पद अभिव्यक्तिहरूका कारण सधैँ जसो चर्चामा रहने भारतीय अभिनेत्री तथा मोडल राखी सावन्त कानुनी समस्यामा परेकी छन् । भारतको उत्तर प्रदेशस्थित झाँसी अदालतले उनी विरुद्ध गैर–जमानती पक्राउ पुर्जी जारी गरेको छ ।

करिब १६ वर्ष पुरानो एक टेलिभिजन कार्यक्रमसँग जोडिएको व्यक्तिको आत्महत्या सम्बन्धी मुद्दामा अदालतले पटक–पटक समन पठाउँदा पनि उपस्थित नभएपछि उनी विरुद्ध यो कडा कदम लिएको हो ।

सन् २०१० मा प्रसारित टेलिभिजन रियालिटी शो ‘राखी का इन्साफ’ मा झाँसी निवासी लक्ष्मणप्रसाद अहिरवार सहभागी भएका थिए । उक्त कार्यक्रममा राखीले लक्ष्मणलाई ‘नामर्द’ भन्दै सार्वजनिक रूपमा अपमानजनक शब्द प्रयोग गरेको आरोप छ । सो अपमानका कारण गहिरो मानसिक तनाव ९ट्रमा० मा परेका लक्ष्मणको केही समयपछि मृत्यु भएको थियो ।

घटनापछि लक्ष्मणकी आमाले राखी सावन्तविरुद्ध प्रहरीमा उजुरी दिँदै मुद्दा दायर गरेकी थिइन् । सोही मुद्दाको सुनुवाइका क्रममा अदालतमा उपस्थित हुन पटक–पटक आदेश दिइए पनि राखी अदालतमा हाजिर नभएपछि झाँसी अदालतले उनीविरुद्ध गैर–जमानती वारेन्ट जारी गरेको हो ।

के थियो विवाद ?

स्थानीय रूपमा तरकारी बेचेर गुजारा चलाउने लक्ष्मणको विवाह फेब्रुअरी २०१०मा अनितासँग भएको थियो । तर, विवाह भएको करिब सात महिनापछि नै पारिवारिक विवाद सुरु भयो र अनिता माइती गएर बस्न थालिन् । अनिताले लक्ष्मणको एक नातेदारको नियत खराब भएको र त्यसबारे लक्ष्मणलाई सुनाउँदा बेवास्ता गरेको तथा मदिरा सेवन गरी कुटपिट गर्ने गरेको आरोप लगाएकी थिइन् ।

पति–पत्नीबिचको यही विवाद सुल्झाउनका लागि उनीहरू सन् २०१० मा ‘राखी का इन्साफ’ कार्यक्रममा पुगेका थिए । तर, कार्यक्रममा समस्या समाधान हुनुको साटो लक्ष्मणलाई सार्वजनिक रूपमा निकै अपमानित महसुस गराइएको थियो।

लक्ष्मणकी आमा सावित्रीले प्रहरीलाई दिएको बयानअनुसार, शोमा राखीले छोरालाई ‘नामर्द’ भन्दै निकै बेइज्जत गरेकी थिइन् । कार्यक्रमपछि लक्ष्मण चरम मानसिक तनावमा परेका थिए । उनी घरबाट बाहिर निस्कन, समाज र साथीभाइसँग भेट्न लजाउँथे र रातभर निदाउन सक्दैनथे ।

लक्ष्मणले बारम्बार ‘राखीले मेरो जिन्दगी बर्बाद पारिदिइन्’ भन्दै पीडा व्यक्त गर्ने गर्थे। पछि उनको स्वास्थ्य गम्भीर रूपमा बिग्रिएपछि अस्पताल भर्ना गरिए पनि उनको ज्यान बचाउन सकिएन ।

राखी सावन्त पछिल्लो समय सामाजिक सञ्जाल र मिडियामा विभिन्न अभिव्यक्तिहरूका कारण पनि चर्चामा रहँदै आएकी छन् । हालै नमाज पढ्ने विषयमा विवादमा परेकी उनी बलिउड अभिनेता गोविन्दा कोमल नाम गरेकी महिलासँग देखिएको विषयमा पनि टिप्पणी गर्दै विवादमा परेकी थिइन् । एजेन्सी

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको