काठमाडौं, कार्तिक १२ गते ।
नेपाल राष्ट्र बैंक टोलीले पहिलो चरणमा १६ सहकारी संस्था अनुगमन तथा निरीक्षण गरेको छ ।
राष्ट्रिय सहकारी प्राधिकरणमा काजमा गएको राष्ट्र बैंक टोलीले पहिलो चरणको ३ महिनामा ४ वटामा विशेष र १२ वटामा सघन नियमन तथा सुपरिवेक्षण गरेको हो ।
केन्द्रीय बैंक टोली गत साउन सुरुदेखि सहकारी अनुगमन र निरीक्षणमा खटिँदै आएको छ । राष्ट्र बैंकका उपनिर्देशक गेजा पँगेनीको नेतृत्वमा १० सदस्यीय टोलीले प्राधिकरणको सहजीकरणमा समस्या देखिएका र ठूला आकारमा कारोबार गर्ने सहकारीको स्थलगत तथा विशेष निरीक्षण गरेको हो । पहिलो चरणमा तीन महिनाका लागि गएको टोलीको अवधि पुनस् ३ महिना थप गरिएको पँगेनीले जानकारी दिए ।
दसैं बिदाका कारण प्रतिवेदन तयारीको केही काम बाँकी रहेको उनले बताए । ‘काज अझै ३ महिना थपिएको छ, ६० वटा सहकारीको नियमन तथा सुपरिवेक्षण गरेर प्रतिवेदन दिने समयसम्म प्राधिकरणमै काम गर्छौैैं, त्यसका लागि आवश्यकता अनुसार समय थप हुँदै जाने देखियो,’ उनले भने ।
अनुगमन तथा निरीक्षण क्रममा पहिचान भएका समस्या एकीकृत गर्ने काम भइरहेको उनले बताए । राष्ट्र बैंक टोलीले पाँचतारा साकोस पेप्सीकोला, मिलन बहुउद्देश्यीय सहकारी संस्था, भक्तपुर पर्यटन साकोस र स्प्रिचुअल साकोस ललितपुरमा विशेष निरीक्षण गरेको छ ।
पाँचताराका हकमा अख्तियारबाट उजुरीपत्र आएका आधारमा स्थलगत अनुगमन तथा निरीक्षण गरिएको हो । सोही सहकारीका सन्दर्भमा अख्तियारमा ३ वटा उजुरी थिए । कर्जा फाइलमा नियामकीय मापदण्ड पूरा गरेको पाइएन । उक्त सहकारीका हकमा आगामी दिनमा त्यस्ता गल्ती नदोहोर्याउन टोलीले निर्देशन दिएको छ ।
सुपरिवेक्षण क्रममा सहकारीहरूले एउटै व्यक्तिलाई प्राथमिक पूँजीको १५ प्रतिशतभन्दा बढी कर्जा दिएको, विनाधितो कर्जा दिएको, बचत संकलन गर्न कमिसन दिएको, कर्जा सदुपयोगिता नहेरेको, सञ्चालक आफैंले धेरै कर्जा परिचालन गरेको र सहकारीको कर्जा लगानीमा समस्या रहेको पाइएको छ ।
त्यसका लागि टोलीले सम्बन्धित संस्थालाई मौखिक निर्देशन समेत दिँदै आएको र आवश्यक नीतिगत व्यवस्था गर्न पनि प्राधिकरणलाई सहयोग गरेको उनले बताए ।
त्यसैगरी टोलीले स्थलगत निरीक्षण गर्दा सहकारीहरूले सदस्य बनेबित्तिकै कर्जा दिने गरेको पाइएको छ । सामान्यतया सहकारी संस्थाले सदस्य भएको ३ महिना नबिती कर्जा प्रवाह गर्न हुँदैन । यसैगरी सहकारी संस्थाले पूँजीकोष गणना नगर्ने, पूँजीकोष बमोजिम कर्जा प्रवाह नगर्ने र बचत संकलन सम्बन्धी व्यवस्था पालना नगर्ने गरेको पाइएको छ ।
धेरैजसो सहकारी सञ्चालक आफैंले कर्जा लिने, नतिर्ने र दुरुपयोग गर्ने तथा ब्याजदरमा फरक गर्ने लगायत समस्या छन् । सबल र ठूला भनिएका सहकारीमा समेत यस्ता खालका समस्या रहेको टोलीका एक सदस्यले बताए ।
राष्ट्र बैंक टोलीले सुपरिवेक्षकीय अनुभव तथा ज्ञान हस्तान्तरण गर्ने पँगेनीले बताए । प्राधिकरण आएको टोलीमा अधिकांश सदस्य केन्द्रीय बैंकको सुपरिवेक्षण र नियमनमा काम गरेका छन् । केन्द्रीय बैंक टोली प्राधिकरणलाई आवश्यक भएसम्म रहने भएकाले फिर्ता हुने समय यकिन नभएको राष्ट्र बैंकका एक अधिकारीले बताए ।
टोलीले सहकारी सुपरिवेक्षण कार्यविधि तयार गर्दैछ । त्यसका साथै अन्य केही नीतिगत सुधारका काम पनि अघि बढिरहेको पँगेनीले बताए ।
राष्ट्र बैंकले लघुवित्तलाई सुपरिवेक्षण गर्दा जसरी गर्छ, सहकारीमा पनि त्यसैगरी नियमन तथा सुपरिवेक्षण गरिएको पँगेनीले बताए । प्राधिकरणमा राष्ट्र बैंकका २९ कर्मचारीको काम गर्ने दरबन्दी नै भएकाले आवश्यकता अनुसार राखिने राष्ट्रिय सहकारी प्राधिकरणका एक अधिकारीले बताए ।








