पोखरामाथि लुम्बिनीको सहज जित

काठमाडौं, कार्तिक १७ गते ।

साविक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा मंगलबार पोखरा एभेन्जर्सलाई ८ विकेटले पराजित गर्दै अपराजित यात्रा कायम राखेको छ ।

पोखराले दिएको ९८ रनको लक्ष्य लुम्बिनीले ११.४ ओभरमा २ विकेट मात्र गुमाएर पूरा गर्‍यो ।

लुम्बिनीले ३ खेलबाट ५ अंक जोड्दै अंकतालिकामा शीर्ष स्थानमा उक्लेको छ । यस सिजन लुम्बिनी मात्र अपराजित छ । उता पोखराको भने यो लगातार तेस्रो हार हो र अंकविहिन हुँदै पूछारमा छ । यस सिजन अहिलेसम्म पोखराले मात्र कुनै पनि खेल जित्न सकेको छैन ।

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ३२ बलमा समान ३ चौका र ३ छक्का प्रहार गर्दै अविजित ४७ रन बनाए । यस्तै विकेटकिपर निरोशान डिकवेलाले २८ बल खेल्दै २ चौका र१ छक्का मदतमा अविजित २७ रन जोडे ।

रोहित र डिकवेलाले तेस्रो विकेटका लागि अविजित ७७ रनको साझेदारी गर्दै जितको आधार तयार गरेका थिए । ओपनर डार्शी सर्टले १३ र आसिफ शेखले ९ रन बनाएर आउट भए । पोखराका लागि बिपिन खत्रीले १ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले पूरै २० ओभर खेल्दा पनि ९ विकेट गुमाएर ९७ रन मात्र बनाउन सक्यो ।
पोखराका लागि चामिका करुणारत्नेले १७ बलमा २ छक्का प्रहार गर्दै सर्वाधिक २५ रन बनाए ।

यस्तै ओपनिङ गरेका कप्तान कुशल भुर्तेलले १४, महेदी हसनले १३ र किरण ठगुन्नाले १२ रन बनाए । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

यस सिजन पहिलो खेल खेलेका अर्जुन कुमाल दोस्रो बलमै खाता नखोली आउट भए । सदारा समिराविक्रमा ७, बिपिन आचार्य १, शकिब अल हशन ३, अर्जुन घर्ती ६ रनमा आउट भए । बिपिन खत्री ६ र आकाश चन्द १ रनमा अविजित रहे ।

पोखरालाई कम स्कोरमा रोक्न लुम्बिनीका रुबेन ट्रम्पलम्यानले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । यस्तै तिक भण्डारीले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । शेर मल्ल, अभिशेष गौतम र कप्तान रोहित पौडेलले १(१ विकेट लिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको