काठमाडौँ, कार्तिक २३ गते ।
देशका विभिन्न जिल्लामा जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ परेका छन् । उनीहरूबाट प्रहरीले २३ लाख ८ हजार ५०९ रुपैयाँ नगद, तास र कौडा बरामद गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार सुर्खेत, ललितपुर, काभ्रे, धनुषा र सर्लाहीबाट उनीहरू पक्राउ परेका हुन् ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ मुलपानीचोकस्थित सुशील भारतीको घरमा जुवातास खेलिरहेको अवस्थामा भारतीसहित १२ जना पक्राउ परेका छन् । उनीहरूको साथबाट चार लाख एक हजार ४८५ रुपैयाँ बरामद भएको छ ।
त्यस्तै, वीरेन्द्रनगर नगरपालिका–१० बुलबुले चोकबाट अर्जुन जंग शाहीसहित १० जना पक्राउ परेका छन् । उनीहरूबाट एक लाख ८१ हजार १०० रुपैयाँ बरामद भएको छ । वीरेन्द्रनगर–३ गण्डकी लाइनबाट मानबहादुर गुरुङसहित आठ जना पक्राउ परेका छन् । उनीहरूको साथबाट तीन लाख ७७ हजार ८५० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।
यसैगरी वीरेन्द्रनगर–६ खोर्केलाइनबाट कबिराम विकसहित ११ जना पक्राउ परेका छन् । उनीहरूबाट एक लाख २७ हजार ८५ रुपैयाँ र १३ बुक तास बरामद भएको छ ।
ललितपुरको गोदावरी नगरपालिका–१३ झरुवारासीस्थित रामसिंह खड्काको घरबाट खड्कासहित नौ जना पक्राउ परेका छन् । उनीहरूको साथबाट एक लाख ५८ हजार ७१५ रुपैयाँ र चार बुक तास बरामद भएको छ । गोदावरी नगरपालिका–१० प्याङगाउँबाट सन्तोष तिमल्सिनासहित दुई जना पक्राउ परेका छन् । उनीहरूबाट ४० हजार ३०५ रुपैयाँ र एक बुक तास बरामद भएको छ ।
काभ्रेको पाँचखाल नगरपालिका–७ श्रीरामपाटीस्थित सार्वजनिक प्रतीक्षालयमा जुवातास खेलिरहेको अवस्थामा सुवास दनुवारसहित ११ जना पक्राउ परेका छन् । उनीहरूको साथबाट ६१ हजार ५९० रुपैयाँ, १६ थान कौडा र एक बुक तास बरामद भएको छ ।
धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१४ रजौलस्थित साजन टेन्ट हाउसबाट मनिषकुमार धामीसहित १८ जना पक्राउ परेका छन् । उनीहरूको साथबाट एक लाख ६१ हजार ६४४ रुपैयाँ र तीन बुक तास बरामद भएको प्रहरीले जनाएको छ ।
सर्लाहीको मलंगवा नगरपालिका–८ बाट रामबहादुर साहसहित नौ जना पक्राउ परेका छन् । उनीहरूको साथबाट ६ लाख ७८ हजार ५६० रुपैयाँ र चार बुक तास बरामद भएको छ ।
त्यस्तै, ब्रह्मपुरी गाउँपालिका–१ बाट सुजितकुमार साहसहित १७ जना पक्राउ परेका छन् । उनीहरूको साथबाट तीन लाख २० हजार १७५ रुपैयाँ र चार बुक तास बरामद भएको छ ।
सबै घटनामा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।








