काठमाडौं, मंसिर १० गते ।
हिम पर्वत हाइड्रोपावर लिमिटेडले मंसिर १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ३४ लाख ६४ हजार ५०० कित्ता सेयर बिक्री गर्न लागेको हो । आईपीओमा मंसिर २३ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा सबै सेयर बिक्री नभए पुस ३ गतेसम्म आवेदन खुला रहनेछ । लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल रहेको छ । कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि १६ लाख ९० हजार र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ लाख २२ हजार ५०० कित्ता सेयर जारी गरिसकेको छ ।
आईपीओबाट प्राप्त रकममध्ये ४७ करोड ७६ लाख रुपैयाँ सिटिजन्स बैंकको ऋण तिर्न र ११ करोड ३८ लाख रुपैयाँ निर्माण व्यवसायीलाई भुक्तानी गर्न प्रयोग गरिने कम्पनीले जनाएको छ ।
दोलखामा २० मेगावाटको साँगु खोला र ५.५ मेगावाटको साँगु खोला–१ जलविद्युत् आयोजना सञ्चालन गरिरहेको कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा १७ करोड रुपैयाँ नाफा कमाएको छ । विद्युत् बिक्रीबाट कम्पनीले ५७ करोड रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ११५ रुपैयाँ ५ पैसा र प्रतिसेयर आम्दानी १५ रुपैयाँ ४८ पैसा रहेको छ । आईपीओ निष्कासनपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ६९ करोड रुपैयाँ पुग्नेछ । एभरेष्ट न्यूज एजेन्सी








