काठमाडौं, असार ७ गते ।
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भक्तपुर सूर्यविनायक नगरपालिका–३ बस्ने इलाम सूर्योदय नगरपालिका–७ घर भएका ६५ वर्षीय टंकनाथ कटुवाल, काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ बस्ने तनहुँ भिमाद नगरपालिका–४ घर भएका २७ वर्षीय शेर बहादुर कुमाल र काठमाडौं टोखा नगरपालिका–५ बस्ने मकवानपुर थाहा नगरपालिका(३ घर भएका ३१ वर्षीय अशिम नगरकोटी रहेका छन् ।
पक्राउ मध्ये टंकनाथले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ, शेरबहादुरले अजरबैजान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ र अशिमले डेनमार्क पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले टंकनाथलाई भक्तपुर सूर्यविनायक नगरपालिका–३ बाट, शेरबहादुरलाई काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ बाट र अशिमलाई काठमाडौं टोखा नगरपालिका–५ बाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । एभरेष्ट न्यूज एजेन्सी








