लुम्बिनीकी प्रदेश सांसद रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी

बुटवल, असार ८ गते ।

जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

समानुपातिक प्रदेशसभा सदस्य रहेकी रायमाझीविरुद्ध जिल्ला अदालत पर्साबाट जेठ १६ गते नै पक्राउ पुर्जी जारी भएको थियो । पर्साको पोखरिया बस्ने आशा कुमारी चौहानले बैंकिङ कसुरमा उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएको आधारमा पक्राउ पुर्जी जारी भएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साले असार ३ गते बर्दिया प्रहरीलाई एक पत्र लेखी सुमनलाई पक्राउ गरी बुझाइदिन आग्रह गरेको छ । सुमन बर्दियाकी हुन् ।

जनमत पार्टीका प्रदेश सभा सदस्य रायमाझीले सोही पार्टीका नेतृ आशा कुमारीसँगको लेनदेनमा दिएको चेक बाउन्स भएपछि यो विषय प्रहरीमा पुगेको बताइएको छ ।

रायमाझी एमालेका तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलका पालामा भौतिक पूर्वाधार विकास राज्यमन्त्री भएकी थिइन् । साथै उनी माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका कुलप्रसाद केसी नेतृत्वको मन्त्रिपरिषदमा कृषि मन्त्री भएकी थिइन् । एभरेष्ट न्यूज एजेन्सी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको