गाउँपालिकाको लगानीले एसइई नतिजा सुधार

तनहुँ, असार १४ गते ।

तनहुँको आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्कस्थित कन्यादेवी माध्यमिक विद्यालय गत वर्षको एसइईमा निल भएको थियो । गत वर्ष विद्यालयका १९ विद्यार्थी एसइईमा सहभागी थिए । त्यतिबेला सबै विद्यार्थी अनुत्तीर्ण भएका थिए । ग्रेडवृद्धिबाट चार विद्यार्थी उत्तीर्ण भएका थिए ।

तर यस वर्ष उक्त विद्यालयको नतिजामा सुधार आएको छ । यस वर्ष विद्यालयबाट ७३।३३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । पन्ध्र जना विद्यार्थी सहभागी भएकामा ११ जना विद्यार्थी उत्तीर्ण भएको विद्यालयका प्रधानाध्यापक सूर्यमानसिंह गुरुङले जानकारी दिए ।

पालिकाको लगानीका कारण यस वर्षको नतिजामा सुधार आएको विद्यालयका प्रधानाध्यापक गुरुङले जानकारी दिनुभयो । पालिकाले एसइई दिने विद्यार्थीलाई मध्यनजर गरी होस्टेलको व्यवस्था गरेको थियो । होस्टेलमा विद्यार्थीका लागि खाने, बस्ने सबै खर्च पालिकाले व्यवस्थापन गरिदिएको थियो ।

यस्तै विषयगत शिक्षकले होस्टेलमै बसेर विद्यार्थीलाई अध्ययन गराउँथे । बिहान ५–८ र साँझ ५–८ अतिरिक्त अध्यययनको व्यवस्था मिलाइएको थियो । उनले भने, “सुरूदेखि एसइई नतिजा सुधारका लागि पालिकाले लगानी गरेको थियो । त्यसकै परिणाम अहिले देखिएको छ ।”

गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले पालिकाभित्रका विद्यालयको नतिजा सुधारका लागि आफूहरू सुरूदेखि नै लागेको बताए । उनले भने, “गत वर्षको नतिजाले हामीलाई निराश बनाएको थियो । अहिले नतिजा सुधारका लागि विद्यालयमै आवाससहितको कक्षा सञ्चालन गरेका थियौँ ।” सम्पूर्ण वडाभित्रका विद्यालयको नतिजाको विवरण सङ्कलनको क्रममै रहेको बताउँदै चुमानले सबै विद्यालयको नतिजा सुधार आएको उल्लेख गर्नुभयो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको