धनुषाको चित्रपुरमा शनिबारदेखि दुई दिवसीय आँप मेला

पब्लिक सन्देश 
गौशाला, असार १५ गते ।

धनुषाको बटेश्वर गाउँपालिका–१ चित्रपुरमा शनिबारदेखि जारी दुई दिवसीय आँप मेला सकिएको छ ।

उत्पादित आँपलाई प्रवर्द्धन, बजारिकरण तथा पर्यटन क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले आयोजना गरिएको ‘चित्रपुर आँप मेला महोत्सव–२०८२’ झन्डै २० हजार मानिसले अवलोकन गरेको आयोजकले जनाएको छ ।

चित्रपुर म्याङ्गो एग्रो टुरिज्म बोर्डको आयोजनामा भएको मेलाको उद्‌घाटन शनिबार मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले गरेका थिए ।

मेलामा विभिन्न थरिका आँपका अचार, अमोट, आमिल, जुस प्रदर्शनीसँगै बिक्रीवितरण समेत गरिएको बोर्डका अध्यक्ष प्रदीप महतोले बताए । मेलामा १० लाख भन्दा बढीको कारोबार भएको महतोको भनाइ छ ।

उनका अनुसार मेलामा आगन्तुकलाई निःशुल्क रुपमा आँप खुवाइएको छ । आँपकै रुखमा पिङ बनाएर न्यून शुल्कमा अतिथिलाई रमाइलो गराएको उनको भनाइ छ ।

तीन सय विघा भन्दा बढी क्षेत्रफलमा आँप खेती रहेको चित्रपुरको बगैंचमा गत वर्षदेखि किसानहरु मिलेर आँपको प्रवर्द्धनसँगै बजारीकरणको लागि आँप मेला आयोजन गर्न थालेका हुन् ।

आगामी वर्षदेखि अझ व्यवस्थित तरिकाले मेला आयोजन गर्ने आयोजकको भनाइ छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको