गौशाला, असार १८ गते ।
महोत्तरीमा क्रसरले खनेको खाल्डोमा नुहाउने क्रममा डुबेर एक बालिकाको ज्यान गएको छ ।
गौशाला नगरपालिका वडा नं. १० जलिल टोल स्थित क्रसर उद्योगले उत्खनन गर्दा बनाएको खाल्डोमा डुबेर स्थानीय दिनेश मण्डलको ११ वर्षीया छोरी करिनाा कुमारी मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक शैलेन्द्र कुमार भट्टले बताए ।
प्रहरी नायव उपरीक्षक भट्टका अनुसार कालिबनि गिट्टी बालुवा प्रशोधन केन्द्र नजिकै मरहा नदी किनारमा ५–७ फिट गहिरो खाल्डोमा दुई जना बालिका एकै साथ नुहाउन जाँदा एक जनाको डुबेर मृत्यु भएको हो ।
बुधबार दिउँसो स्थानीय बालिकाहरु गार्मी छल्न जमेको पानीमा नुहाउन पुगेका थिए ।
बालिका डुबेर सिकिस्त भएपछि उपचारकालागि गौशाला प्राथमिक स्वास्थ्य केन्द्रमा लिएर जाँदा स्वास्थ्यकर्मीले मृत घोषणा गरेका थिए । मृतक बालिकाको शव पोष्टमार्टमका लागि बर्दिबास अस्पतालमा लगिएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक उतम सिंह भण्डारीले बताए ।








