रामबाबु यादव
गौशाला, भाद्र १८ गते ।
मालपोत कार्यालय गौशाला, महोत्तरीमा अब सोनमा गाउँपालिकाको जग्गा समेत रजिष्ट्रेशन हुने भएको छ ।
सोनमा गाउँपालिकाको जग्गा वर्गीकरण सम्बन्धी कागजात बुझाएपछि महिनौदेखि बन्द रहेको जगगा रजिष्ट्रेशन आज (बुधबार) देखि सुचारु हुने भएको छ ।
जग्गा वर्गीकरण सम्बन्धि सम्पूर्ण कागज सोनमा गाउँपालिकाका अध्यक्ष विशेश्वर प्रसाद यादव, वडाध्यक्ष लगायतका जनप्रतिनिधि नापी कार्यालय तथा मालपोत कार्यालय गौशालामा बुझाए पछि बुधबारदेखि जग्गा रजिष्ट्रेशनको काम सुचारु हुने मालपोत कार्यालय प्रमुख विष्णु कुमार महतले बताए ।
मालपोत कार्यालयले बिना जानकारी सोनमा गाउँपालिकाको रजिष्ट्रेशन सम्बन्धि कामकाज ठप्प पारेको भन्दै गाउँपालिका अध्यक्ष यादवले आपत्ति जनाए ।
अध्यक्ष यादवले भने, ‘वर्गिकरणसम्बन्धी कागजात नभएको भन्दै मालपोत कार्यालयले कामकाज ठप्प गरेर मनोमानी गरेको र सेवाग्राहीलाई दुःख दिने मनसाय रहेको छ ।’
अध्यक्ष यादवले बुधबारदेखि सूचना भएका जग्गा रजिष्ट्रेशनमा बिना झन्झट सहजरूपमा सेवा प्रवाह गर्न मालपोत कार्यालय प्रमुख महतलाई अध्यक्ष यादवले सुझाव दिए ।
जग्गा मुल्यांकन वर्गीकरण समावेश नगराए पछि मालपोत कार्यालय गौशालाले डेढमहिनादेखी जग्गा रजिष्ट्रेशन तथा कित्ता काँट लगायत सम्पूर्ण काम काज ठप्प पारेको थियो ।
यता, नापी कार्यालय गौशालका प्रमुख किशन साहले मालपोतबाट कागज आएपछि यस कार्यालयले सहजरूपमा विना बाधा अवरोध सेवा प्रवाह गरिरहेको छ ।








