बढ्यो विदेशी मुद्राको सञ्चिति, २८ खर्ब ६ अर्ब पुग्यो

काठमाडौँ, भदौ ३१ गते ।

देशभित्र कुल विदेशी मुद्रा सञ्चिति २८ खर्ब ६ अर्ब ४ करोड रुपैयाँ बराबर पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार गत असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ४.८ प्रतिशतले वृद्धि भएको हो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा १९ अर्ब ५० करोड रहेकामा गत साउन मसान्तमा २‍।७ प्रतिशतले वृद्धि भई २० अर्ब ३ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रुपैयाँ रहेकामा गत साउन मसान्तमा ४ प्रतिशतले वृद्धि भई २५ खर्ब ११ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ ।

बैंक तथा वित्तीय संस्था ९नेपाल राष्ट्र बैंकबाहेक०सँग रहेको विदेशी विनिमय सञ्चिति गत असार मसान्तमा २ खर्ब ६३ अर्ब ४ करोड रहेकामा गत साउन मसान्तमा १२ प्रतिशतले वद्धि भई २ खर्ब ९४ अर्ब ५८ करोड रुपैयाँ कायम भएको छ ।

गत साउन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३।४ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८२र८३ को पहिलो महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले २० दशमलव चार महिनाको वस्तु आयात र १६ दशमलव ६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

समीक्षा अवधिमा चालु खाता ७८ अर्ब १४ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३३ अर्ब ८ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २५ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ५६ करोडले बचतमा रहेको छ ।

समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर १ अर्ब ४ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २२ करोड रहेको थियो । यसैगरी, समीक्षा अवधिमा ६९ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी ८० करोड रुपैयाँ रहेको थियो ।

सो अवधिमा शोधनान्तर स्थिति ८९ अर्ब ३० रुपैयाँ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४० अर्ब ९० करोड रपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३१ करोड रुपैयाँले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ६४ करोडले बचतमा रहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको