मौसम तथा जलवायुसम्बन्धी सूचना किसानलाई

दमौली, वैशाख २२ गते ।

तनहुँको म्याग्दे गाउँपालिकामा कृषि तथा जलवायु सूचना केन्द्र स्थापना हुने भएको छ ।

स्थानीय समुदाय, विशेषगरी किसानहरूलाई समयमै मौसम तथा जलवायुसम्बन्धी सूचना उपलब्ध गराई जलवायु परिवर्तन न्यूनीकरण,अनुकूलन तथा सामना रणनीति अवलम्बन गर्न सहयोग पु¥याई स्थानीय समुदायको उत्थानशील एवं अनुकूलन क्षमता बढाउने उद्देश्यले गाउँपालिकामा कृषि तथा जलवायु सूचना केन्द्र स्थापना गर्न लागिएको हो ।

उक्त कार्यका लागि म्याग्दे गाउँपालिका र श्रमिक बालबालिकाको सामाजिक एकीकरण मञ्च ९चिल्ड्रेन–नेपाल० बीच सहमतिपत्रमा हस्ताक्षर गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ र चिल्ड्रेन–नेपालका कार्यकारी निर्देशक डिल्लीप्रसाद शर्माले उक्त सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त सूचना केन्द्रमार्फत नागरिकलाई मौसम पूर्वानुमान, वर्षा, खडेरी, हुरीबतास, असिनालगायत मौसमी घटनाबारे जानकारी उपलब्ध गराइनेछ ।

साथै कृषि सल्लाह, चेतनामूलक सूचना र जलवायु जोखिम न्यूनीकरणसम्बन्धी जानकारी पनि नियमित रूपमा प्रसारण गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

केन्द्रमार्फत किसानलाई जलवायु अनुकूल कृषि प्रविधि, जस्तै थोपा सिँचाइ, ग्रिन हाउस, टनेल खेती, मल्चिङलगायत विषयमा जानकारी दिइनेछ । यसले कृषि उत्पादन वृद्धि, खाद्यान्न आत्मनिर्भरता र जीवनस्तर सुधारमा टेवा पुग्ने विश्वास गरिएको अधिकारीको भनाइ छ ।

गाउँपालिकाले केन्द्र सञ्चालनका लागि आवश्यक पूर्वाधार, जनशक्ति तथा सूचना व्यवस्थापनको जिम्मेवारी लिनेछ भने चिल्ड्रेन–नेपालले ‘जलवायु उत्थानशील समुदाय परियोजना’ अन्तर्गत रु दुई लाख सहयोग उपलब्ध गराउनेछ ।

साथै प्राविधिक सहयोग, चेतनामूलक सामग्री तयारी र प्रचारप्रसारमा पनि सहयोग गर्ने सहमतिपत्रमा उल्लेख छ ।

जल तथा मौसम विज्ञान विभाग, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग तथा गाउँपालिकाको कृषि तथा वातावरण शाखाबाट प्राप्त सूचनाहरूलाई केन्द्रमार्फत स्थानीयकरण गरी कृषकसम्म पुर्‍याइनेछ ।

सूचना डिजिटल बोर्ड, मोबाइल म्यासेज, फेसबुक र ह्वाट्सएप समूहमार्फत प्रसारण गरिने व्यवस्था मिलाइने अधिकारीले बताए । उक्त केन्द्र एक महिनाभित्र सञ्चालनमा ल्याइनेछ ।

जलवायु सूचना केन्द्र सञ्चालनका लागि आवश्यक कोठाको व्यवस्था गरी पालिकातर्फ नियमित रूपमा जलवायु सूचना अद्यावधिक गर्न कर्मचारीको व्यवस्थापन गरिने जनाइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको