केदार तिमिल्सना
बनेपा, वैशाख २२ गते ।
सङ्घीय राजधानी काठमाडौँलाई पूर्वी पहाडी र तराईका जिल्लासँग जोड्ने बिपी राजमार्गमा रातको समयमा सवारी आवागमनमा रोक लगाइएको छ।
मङ्गलबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले मङ्गलबारदेखि नै लागु हुने गरी अर्को सूचना जारी नभएसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म बिपी राजमार्गमा निजी तथा सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।
काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले मङ्गलबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले बिपी राजमार्गको भकुण्डेबेँसी–खुर्कोट सडक खण्डमा अर्को सूचना जारी नभएसम्म यातायात सञ्चालनमा पूर्णरूपमा रोक लगाउने निर्णय गरेको बताए ।
उनले रातको समयमा हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै यात्रु र सवारी साधनको सुरक्षाका लागि अनिश्चितकालीन रोक लगाइएको जानकारी दिए । समितिले तोकिएको समयबाहेक पनि वर्षा, रोशी खोलामा आउन सक्ने बाढी र मौसमको अवस्था हेरी आवश्यकताका आधारमा जुनसुकै बेला अल्पकालीन रूपमा सडक बन्द गर्न सकिने जनाएको छ।
सोमबारको घटना तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशनलाई ध्यानमा राखी काभ्रेपलाञ्चोक र सिन्धुलीका प्रमुख जिल्ला अधिकारीबिच भएको टेलिफोन संवादका आधारमा यो निर्णय लिइएको हो । निर्माणाधीन बिपी राजमार्गमा वर्षाका कारण चालु आर्थिक वर्षमा हालसम्म दर्जनौँ पटक सडक अवरुद्ध भइसकेको छ । जिल्ला सुरक्षा समितिले यसअघि पनि चार पटक राजमार्ग बन्द गराइसकेको छ ।








