धनकुटा, असोज २१ गते ।
धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारमा दुर्घटनामा परेको जिपभित्र प्रहरीले ३४१ किलो गाँजा फेला पारेको छ । धनकुटाबाट भेडेटारतर्फ आइरहेको बा १३ च ६२७५ नम्बरको जिप दुर्घटनामा परेको थियो । दुर्घटनाको खबर पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो । जिप सडकबाट करिब १५ मिटर तल खसेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि गाडी जाँच गर्दा गाँजा फेला परेपछि एक जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । गाडी खानतलासी गर्दा गाडीभित्र बोरामा प्याक गरी लुकाएर राखिएको अवस्थामा उक्त गाजा भेटिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका–९ घर भई हाल सुनसरी धरान उपमहानगरपालिका–१० बस्ने ३९ वर्षीय अमित विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।






