रौतहट, असोज २१ गते ।
मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले प्रहरीको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन १० थान सुपर स्प्लेन्डर मोटरसाइकल हस्तान्तरण गरेको छ ।
बुधबार आयोजित कार्यक्रममा गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतोले मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी ओमप्रसाद अधिकारीलाई मोटरसाइकल हस्तान्तरण गरेका हुन् । हस्तान्तरण गरिएका मोटरसाइकलमध्ये ९ थान जिल्ला प्रहरी कार्यालय सर्लाही र १ थान मधेश प्रदेश प्रहरी गणलाई उपलब्ध गराइएको छ ।
कार्यक्रममा प्रहरीका उच्च अधिकारी तथा मन्त्रालयका उच्च तहका कर्मचारीको उपस्थिति थियो ।
प्रहरीलाई उपलब्ध गराइएको मोटरसाइकलले विशेषगरी वडा दशैं लगायत पर्व तिहारमा ग्रामीण तथा दुर्गम क्षेत्रमा गस्ती, तत्काल घटनास्थल पुग्न तथा शान्ति–सुरक्षा व्यवस्थापनमा सहजता पुग्ने अपेक्षा गरिएको छ । सीमावर्ती क्षेत्र र भौगोलिक रूपमा फैलिएको मधेशमा प्रहरीको नियमित गस्ती तथा ‘रिस्पोन्स’ क्षमता बढाउन यस्ता साधन उपयोगी हुने देखिन्छ । न्यूज कारखाना






