मूल्यमा पारदर्शिता कायम गर्न बजार अनुगमन

पर्वत, जेठ ३ गते ।

सरकारले यस वर्ष गत वैशाख २८ देखि यही जेठ ३ गतेसम्म मनाइरहेको मूल्यमा पारदर्शिता सप्ताहअन्तर्गत शनिबार पर्वतका विभिन्न क्षेत्रमा बजार अनुगमन गरिएको छ ।

बजारमा कृषिजन्य वस्तुको अवस्था, मासुजन्य वस्तु तथा कृषि तथा भेटेरिनरीका बीउबिजन, विषादी र वस्तुभाउका औषधिको अवस्था, मूल्यसुची र गुणस्तरीयता परीक्षण गर्ने उद्देश्यले बजार अनुगमन गरिएको हो । यहाँ जलजला, मोदी गाउँपालिका र कुश्मा नगरपालिकाका पसलमा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय र कृषि विकास कार्यालयको संयुक्त आयोजनामा अनुगमान गरिएको हो ।

तीनवटै पालिकामा गरी मासु पसल नौवटा, माछा पसल एक, भेटेरिनरी सेन्टर पाँच, डेरी उद्योग तीन र कृषि बीउ केन्द्र÷बीउ भण्डार तथा एग्रो सेन्टर तीन गरी जम्मा २० वटामा अनुगमन गरिएकोे भेटेरिनरी अस्पतालका प्रमुख सुरेशकुमार श्रेष्ठले जानकारी दिए ।

अनुगमनका क्रममा अधिकांश पसलमा मूल्यसूची नराखिएको, सरसफाइमा ध्यान नदिइएको, पसल नवीकरण नगरिएको, विषादी र अन्य सामान एकै ठाउँमा राखेर बिक्री वितरण गरिएको, विषादी विक्रेताले खतराको चिह्न नराखेको, सबै प्रकारको मासु एउटै फ्रिजमा राखिएकोजस्ता समस्या देखिएका छन् । यसैगरी सेतो टायल लगाउन, दाउ र अचानो छुट्टाछुट्टै राख्न, हात धुनका लागि बेसिनसहितको धारा राख्नुलगायत सुझाव दिइएको छ ।

सप्ताहका अवसरमा पहिलोपटक गरिएको बजार अनुगमनमा समस्या देखिएका पसलमा सुधार गर्न एक साताको समयावधि दिइएको छ । तत्काल मूल्यसूची राख्न, मासु पसलमा आवश्यक पूर्वाधार निर्माण गर्न, उद्योग व्यवसाय दर्ता तथा नवीकरण, विषादी वितरणमा आवश्यक सतर्कता अपनाउन आग्रह गर्दै सुधार नभएमा अर्को पटकको अनुगमनमा कारबाही गर्ने चेतावनी दिइएको छ ।

उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल पर्ने खालका कुनै पनि गतिविधि नगर्न आग्रह गरिएको कृषि विकास कार्यालयका प्रमुख गोपाल लामिछानेले जानकारी दिए ।

अनुगमनमा जिल्ला प्रशासन कार्यालय, उपभोक्ता मञ्चका अध्यक्ष सरिता भण्डारी, पर्वत उद्योग वाणिज्य सङ्घका महासचिव खड्गप्रसाद खनाललगायत विभिन्न पालिकाका पशु तथा कृषि शाखा प्रमुखहरूको सहभागिता थियो ।

जिल्लाका अन्य पालिकामा रहेका बजार तथा पसलमा पनि अनुगमन गरिने कार्यालयले जनाएको छ । यसबाहेक जिल्ला प्रशासन कार्यालय, एकीकृत सेवा कार्यालय र सम्बन्धित पालिकाले समेत मातहतका पसलहरू अनुगमनको तयारी गरेका छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको