रास्वपाको निर्वाचन तालिका सार्बजनिक

चितवन, असार ७ गते ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगका अनुसार शनिबार राति नै महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली प्रकाशन भइसकेको छ ।

तालिकाअनुसार आज राति ११ बजे प्रतिनिधिहरूको अन्तिम नामावली प्रकाशन गरिने छ । सोमबार दिउँसो १ बजेदेखि उम्मेदवार मनोनयनका लागि फारम वितरण गरिने आयोगका प्रमुख भुवन केसीले जानकारी दिए ।

सोमबार दिउँसो २ बजेदेखि ४ बजेसम्म उम्मेदवार मनोनयन दर्ता गरिने छ भने साँझ ६ बजे उम्मेदवारहरूको नामावली प्रकाशन गरिने छ । यस्तै, सोमबार बेलुका ६ बजेदेखि ७ बजेसम्म उम्मेदवारविरुद्ध दाबी–विरोध, ७ बजेदेखि ९ बजेसम्म दाबी–विरोध परेका उम्मेदवारबारे जाँचबुझ गरिने छ । उहाँका अनुसार बेलुकी ९ः१५ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने अन्तिम समय तोकिएको छ । उम्मेदवारको अन्तिम नामावली राति ११ बजे प्रकाशन गरिने छ ।

यही असार ९ गते मङ्लबार बिहान ८ः३० बजेदेखि दिउँसो ३ बजेसम्म पहिलो चरणको मतदान सुरु गरिनेछ । जसमा एक जना सभापति र ९९ जना केन्द्रीय सदस्यका लागि मतदान गरिने उनले जानकारी दिए । मतदानपछि पहिलो चरणको मतगणना र मतपरिणाम घोषणा दुई घण्टापछि गरिने छ । त्यसपछि दोस्रो चरणको मतदान प्रक्रिया अघि बढाइने उनले जानकारी दिए ।

आयोगले पार्टी सभापतिको उम्मेदवारका लागि रु ५१ हजार शुल्क र एक जना प्रस्तावक एवं ५१ जनाको समर्थन आवश्यक पर्ने जनाएको छ । यस्तै, पार्टी पदाधिकारीका लागि रु ४१ हजार शुल्क र एक जना प्रस्तावक तथा २१ जनाको समर्थन, र केन्द्रीय सदस्यका लागि रु २१ हजार शुल्क र एक जना प्रस्तावक एवं २१ जनाको समर्थन आवश्यक पर्ने आयोगले जनाएको छ ।

महाधिवेशनमा ४,२११ जना प्रतिनिधि छन् । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको