१२ सय बढी परमाणु हतियारहरू अझै पनि कायमै

काठमाडौं, असोज १० गते ।

आज अन्तर्राष्ट्रिय परमाणु हतियार निर्मूल दिवस, यो दिवस हरेक वर्ष सेप्टेम्बर २६ मा विश्वभर मनाइन्छ । संयुक्त राष्ट्रसङ्घको महासभाले विश्वलाई परमाणु हतियारको जोखिमबाट मुक्त गराउन र अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षा कायम गर्नका लागि यो दिवस घोषणा गरेको हो ।

विश्वव्यापी रूपमा नागरिक समाज तथा शान्तिवादी सङ्घ–संस्थाहरूले यस दिवसमा जनचेतना जगाउन र ऐक्यबद्धता जनाउन ‘परमाणु हतियार रोकौँः शान्ति हाम्रै हातमा छ’ अभियान चलाउँदै आएका छन् ।

सन् २०१३ डिसेम्बरमा संयुक्त राष्ट्रसङ्घको महासभाले प्रस्ताव पारित गर्दै हरेक वर्ष सेप्टेम्बर २६ लाई यो दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । सन् २०१४ देखि यो दिवस नियमित रूपमा मनाइँदै आएको छ ।

सन् १९८३ सेप्टेम्बर २६ का दिन सोभियत सङ्घको प्रारम्भिक चेतावनी प्रणालीमा प्राविधिक गडबडीका कारण अमेरिकाले मिसाइल प्रहार गरेको गलत सङ्केत आएको थियो । तर तत्कालीन सोभियत अधिकारी स्टानिस्लाभ पेट्रोभले सुझबुझ देखाउँदै यसलाई प्रणालीको त्रुटि मान्दा हुनसक्ने सम्भावित परमाणु युद्ध रोकिएको थियो ।

परमाणु हतियारले मानव सभ्यता, वातावरण र पृथ्वीका लागि निम्त्याउने विनाशकारी असरबारे आम नागरिक र विश्व नेताहरूलाई सचेत गराउनु, परमाणु हतियार भएका देशहरूलाई आफ्ना हतियार नष्ट गर्न र नयाँ निर्माण रोक्न अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्नु र परमाणु हतियारको निर्माण र आधुनिकीकरणमा अर्बौँ डलर खर्च भइरहेको छ। उक्त बजेटलाई गरिबी निवारण, शिक्षा, स्वास्थ्य र जलवायु परिवर्तन जस्ता विश्वव्यापी चुनौतीहरू समाधान गर्न प्रयोग गर्नुपर्ने सन्देश दिनु यसको उदेश्य हो ।

विश्वमा अझै पनि अनुमानित १२,००० भन्दा बढी परमाणु हतियारहरू कायम छन् । शक्तिशाली राष्ट्रहरूले आफ्ना परमाणु हतियारलाई अझ आधुनिक र घातक बनाउन ठूलो बजेट विनियोजन गरिरहेका छन् ।  पछिल्लो समय बढ्दो भू(राजनीतिक तनाव, क्षेत्रीय द्वन्द्व र आर्टिफिसियल इन्टेलिजेन्स को प्रयोगका कारण परमाणु युद्धको जोखिम झनै बढेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको