राष्ट्रियसभा: सार्वजनिक यातायातको भाडा समायोजन गर्न आग्रह

काठमाडौँ, असार १८ गते ।

राष्ट्रियसभाका सदस्यहरुले सार्वजनिक यातायातको भाडा समायोजन, विपद् पूर्वतयारी, सडक सुरक्षा र कूटनीतिक माध्यमबाट सीमा समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा नेपाली कांग्रेसका कृष्णबहादुर रोकायाले पेट्रोलिमय पदार्थको मूल्य घटेको अवस्थामा तत्काल सार्वजनिक सवारीसाधन र हवाई यातायातको भाडा समायोजन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

कांग्रेसकै पदमबहादुर परियारले पछिल्लो एक दशकमा सडक दुर्घटनामा २४ हजारभन्दा बढी नागरिकले अकालमै ज्यान गुमाएका उल्लेख गर्दै सडक सुरक्षामा विशेष ध्यान दिन सरकारलाई सुझाव दिनुभयो ।

सोही पार्टीकी विष्णुकुमारी सापकोटाले रुसी सेनामा भर्ना भई युक्रेन युद्धमा १८७ नेपाली नागरिकको मृत्यु तथा ९६ जना बेपत्ता भएको भन्ने खबरप्रति गम्भीर बन्न र कूटनीतिक पहलमार्फत सत्यतथ्य बाहिर ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

कांग्रेसकै विष्णुदेवी पुडासैनीले सुकुमवासी नागरिकको समस्या समाधान गर्न सरकारसँग आग्रह गर्नुभयो । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का विष्णुबहादुर विश्वकर्माले आगामी आर्थिक वर्षमा नयाँ सवारीसाधन खरिद नगर्न सुझाव दिनुभयो ।

सोही पार्टीका श्रीकृष्णप्रसाद अधिकारीले नुवाकोटको सूर्यगढी गाउँपालिका–१ लच्याङको बुलबुले, काउले र सेम्राङमा जमिन भासिएर ३० परिवार विस्थापित तथा सयौँ घर पहिरोको जोखिममा रहेको जानकारी गराउँदै तत्काल प्रभावितको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सोही पार्टीकी सावित्री मल्लले नवलपरासीको सुस्ता क्षेत्रका नागरिक भूमि रक्षा र नागरिकता प्राप्तिको माग गर्दै माइतीघरमा आन्दोलन गरिरहेको उल्लेख गर्दै सीमासम्बन्धी समस्या समाधान गर्न कूटनीतिक पहल गर्न सरकारसँग आग्रह गर्नुभयो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको