शिक्षामन्त्रीको दाबी : कक्षा १२ को नतिजा गत वर्षभन्दा विश्वासनीय

काठमाडौं, साउन १५ गते ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विगत वर्षमा भन्दा यसपटक कक्षा १२ को परीक्षाको नतिजा विश्वासनीय भएको दाबी गरेका छन् । राष्ट्रियसभामा शुक्रबार नेकपाका सांसद भुवनबहादुर सुनारले राखेको प्रश्नको उत्तरमा मन्त्री पोखरेलले यस्तो बताएका हुन् ।

उनले कक्षा १२ को परीक्षाको नतिजा ३९ दिनमै ल्याउँदा लापरबाही भएको प्रश्न उठे पनि परीक्षणले लापरबाही नभएको पुष्टि गरेको बताए ।

“कक्षा १२ को यसपटक हामीले एकदमै चाँडो नतिजा ल्याउन सफल भएका थियौँ । ३९ दिनमै नतिजा ल्यायौँ, चाँडो नतिजा ल्याएको हुनाले लापरबाही भएको हो कि भन्ने प्रश्न उठेको थियो,” पोखरेलले भने, “प्रश्न उठेपछि कमिटी बनाएर उत्तरपुस्तिका र्‍यान्डम छानेर परीक्षण गर्दा लापरबाही नभएको पुष्टि भएको छ ।”

बाँकी विषयमा ‘ए प्लस’ जीपीए पाएका विद्यार्थीको कुनै विषयमा ‘एब्सेन्ट रिजल्ट’ आएकोसहित सार्वजनिक त्रुटिका विषयमा भने मन्त्री पोखरेलले कुनै टिप्पणी गरेनन् । उनले नम्बर पुनर्योगको लागि परेका निवेदनका तथ्यांक प्रस्तुत गर्दै कक्षा १२ को नतिजा यसपटक थप विश्वासनीय भएको दाबी समेत गरे ।

“यसपालि रिटोटलिङका लागि ३२ हजारले निवेदन दिनुभएको थियो । सो गत वर्षभन्दा पनि कम छ । गत वर्ष रिटोटलिङका लागि ४० हजारले निवेदन दिएका थिए,” पोखरेलले भने, “गत वर्षभन्दा कम विद्यार्थीले रिटोटलिङका लागि निवेदन दिएकाले के पुष्टि गर्छ भने गत वर्षभन्दा यसपटकको नतिजा प्रक्रिया बढी विश्वासनीय भएको छ ।”

सांसद सुनारले कक्षा १२ को परीक्षामा लापरबाहीले गर्दा ७४२ विद्यार्थी लेखपढबाट बञ्चित भएको भन्दै प्रश्न उठाएका थिए । त्यसबाहेक सांसद सुनारले ‘एसईईका परीक्षार्थीका एक हजार उत्तरपुस्तिका हराएको भनिएको छ । यो सरकार आएपछि अझै धेरै बेथिति भएको छ’ भन्दै प्रश्न राखेका थिए ।

एसईईका उत्तरपुस्तिका हराएका विषयमा भने मन्त्री पोखरेलले कुनै जवाफ दिएनन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको