काठमाडौं, भदौ ११ गते ।
रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा जोखिममा परेका नागरिकको आज बिहानैदेखि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार गरिने भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बैठकले प्रभावित क्षेत्रका घाइतेलाई उद्धार गरी सुरुमा रसुवाको धुन्चे र नुवाकोटको विदुरस्थित नेपाली सेनाको ब्यारेकमा स्थापना गरिने क्याम्पमा उपचार गर्ने निर्णय गरेको गृहमन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए।
उनका अनुसार गम्भीर घाइतेलाई भने तत्काल उद्धार गरी काठमाडौं ल्याउने तयारी छ।
घाइतेको अवस्था अनुसार प्राथमिकीकरण (वर्गीकरण) गरी उद्धार तथा उपचारलाई अघि बढाइने उनले जानकारी दिए
यसैगरी, प्रभावितका लागि आवश्यक राहत सामग्री स्थलमार्ग हुँदै विदुरस्थित नेपाली सेनाको ब्यारेकतर्फ पठाउन थालिएको छ।






