सुनिल गाउँले
बारा, असोज ३ गते ।
बाराको जीतपुर सिमरा उपमहानगरपालिका–२ सिमरास्थित मेनरोडको एक होटेलमा चक्कु प्रहार गरेर एक जनाको हत्या भएको छ ।
शनिबार साँझ ५ बजेतिर सम्झना स्टाफ होटेलमा स्थानीय ३५ वर्षीय शेरबहादुर खड्काको चक्कु प्रहार गरेर हत्या भएको हो ।
चक्कुको प्रहारबाट घाँटीमा गम्भीर चोट लागेका खड्कालाई उपचारका लागि वीरगञ्ज पुर्याइएपनि अस्पतालमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक (डीएसपी) दयाकृष्ण भट्टले घटनाको अनुसन्धान भइरहेको जनाएका छन् । उनले घटनामा संलग्नहरू फरार रहेकोे जानकारी दिए ।
खाजा खान आएका समूहबीच विवाद भएपछि होटेलको भान्सामा रहेको चक्कु खड्कामाथि प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।






