परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना

काठमाडौं, असोज ४ गते ।

परराष्ट्र मन्त्रालयले जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई संस्थागत र प्रभावकारी बनाउन पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना गरेको छ ।

जलवायु परिवर्तन र यसले पारिरहेको प्रभावलाई ध्यान दिएर अहिलेको आवश्यकताअनुसार मन्त्रालयले यो शाखा स्थापना गर्ने निर्णय गरेको मन्त्री शिशिर खनालको सचिवालयले जनाएको छ ।

मन्त्रालयले गरेको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) का आधारमा संयुक्त राष्ट्रसङ्घ तथा विशिष्टीकृत सङ्घसंस्था महाशाखाअन्तर्गत ‘आर्थिक, सामाजिक विकास तथा वातावरण कूटनीति शाखा’को संरचनाअन्तर्गत उक्त शाखा रहने व्यवस्था गरिएको हो ।

नेपालले जलवायु परिवर्तन तथा वातावरण संरक्षणका विषयमा राष्ट्रिय, क्षेत्रीय तथा अन्तरराष्ट्रिय मञ्चहरूमा निरन्तर रूपमा सक्रिय सहभागिता जनाउँदै आएको छ । यसै प्रयासलाई समन्वित र संस्थागत रूपमा अघि बढाउन शाखा स्थापना गरिएको जनाइएको छ । नयाँ शाखाले जलवायु तथा वातावरणसम्बन्धी अन्तरराष्ट्रिय कूटनीतिक पहलमा सहजीकरण गर्नुका साथै सम्बन्धित राष्ट्रिय निकायहरूसँग समन्वय गर्नेछ ।

परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु कूटनीतिलाई अन्तरराष्ट्रिय सम्मेलन तथा कार्यक्रममा सहभागितामा मात्र सीमित नराखी दीर्घकालीन र संस्थागत प्राथमिकताका रूपमा अघि बढाउनुपर्ने बताए।

उनले राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन वा अन्य कार्यक्रममा सहभागिता जनाउनेमा मात्र केन्द्रित गरेर जलवायु कूटनीतिको सामर्थ्य नबढ्ने बताए । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको