सरकारसँग ८८ हजार टन मल मौज्दात

काठमाडौं, असोज ५ गते ।

सरकारसँग हाल देशभरिका गोदामहरूमा ८७ हजार ८ सय ९२ टन रासायनिक मल मौज्दात रहेको छ ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष १ साउनदेखि १ असोजसम्मको विवरण अनुसार किसानलाई वितरण गर्न कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनका गोदामहरूमा उक्त परिमाणको मल मौज्दात छ ।

मौज्दात मलमध्ये युरियाको मात्रा सबैभन्दा बढी छ । मन्त्रालयको तथ्यांक अनुसार हाल गोदाममा ४० हजार ५ सय २५ टन युरिया, ३२ हजार ७ सय ८५ टन डीएपी र १४ हजार ५ सय ८१ टन पोटास मल मौज्दात छ ।

सरकारले मल आपूर्ति र वितरण जिम्मा दिएका दुई सरकारी निकायमध्ये कृषि सामग्री कम्पनी लिमिटेडसँग सबैभन्दा धेरै ६३ हजार ८ सय ६ टन मल मौज्दात छ । त्यसैगरी साल्ट ट्रेडिङ कर्पोरेसनको गोदाममा २४ हजार ८५ टन मौज्दात छ ।

थप ८२ हजार टन आउँदै

हाल गोदाममा रहेको वितरण हुँदै गर्दा बाहिरी देशबाट थप मलसमेत भित्रिने क्रममा रहेको मन्त्रालयले जनाएको छ । तथ्यांक अनुसार हाल ८२ हजार ९ सय ५५ टन रासायनिक मल मार्गस्थ (बाटोमा आउँदै गरेको) अवस्थामा छ ।

मार्गस्थ अवस्थामा रहेको मलमा युरिया र डीएपी मात्रै छ, जसमा ६५ हजार ९ सय ७० टन युरिया र १६ हजार ९ सय ८५ टन डीएपी छ ।

बाटोमा रहेको मलमध्ये कृषि सामग्री कम्पनीले ६० हजार २ सय २० र साल्ट ट्रेडिङले २२ हजार ७ सय ३५ टन मल ल्याइरहेका छन् ।

हालसम्म १ लाख ३० हजार टन बिक्री

सरकारले किसानलाई मल वितरण पनि निरन्तर गरिरहेको जनाएको छ । गत आव २०८२/८३ को बाँकी मौज्दात समेत गरी १ असोजसम्म कुल १ लाख ३० हजार ९ सय ७५ टन रासायनिक मल बिक्री भइसकेको छ ।

यस अवधिमा ८० हजार १ सय ९६ टन युरिया, ४७ हजार २ सय ७४ टन डीएपी र ३ हजार ५ सय ३ टन पोटास किसानको खेतबारीसम्म पुगिसकेको मन्त्रालयको तथ्यांकले देखाउँछ ।

कुल बिक्री भएको मलमध्ये कृषि सामग्री कम्पनी मार्फत ९८ हजार ८ सय ९३ टन र साल्ट ट्रेडिङ मार्फत ३२ हजार ८१ टन मल वितरण भएको हो ।

यस वर्ष सरकारले ५ लाख ५० हजार टन रासायनिक मल ल्याउने लक्ष्य राखेको छ । यसका लागि ३२ अर्ब ४६ करोड १९ लाख विनियोजन गरिएको छ भने हालसम्म २ लाख ४० हजार टन मल खरिदका लागि टेन्डर प्रक्रिया समेत सम्पन्न भइसकेको मन्त्रालयको भनाइ छ ।

मन्त्रालयको तथ्यांक अनुसार गत आवको मार्गस्थ समेत गरी हालसम्म कुल १ लाख ४७ हजार ११ टन मल आपूर्ति भइसकेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको