सिरहा, असोज ६ गते ।
सिरहाका विभिन्न सीमावर्ती क्षेत्रबाट अवैध रूपमा ओसारपसार भइरहेको १३ लाख रुपैयाँभन्दा बढीको सामान सशस्त्र प्रहरीले बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं। ७ गण हेडक्वार्टर सिरहाका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सुमनजंग थापाका अनुसार जिल्लाका विभिन्न सीमा इलाकाबाट १३ लाख ३५ हजार २५१ रुपैयाँ बराबरको भन्सार छलीका सामान नियन्त्रणमा लिइएको हो ।
नेपालबाट भारततर्फ लैजाँदै गरिएको र भारतबाट नेपालतर्फ अवैध रूपमा भित्र्याउँदै गरिएको अवस्थामा उक्त सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।
बरामद गरिएका सामग्रीहरूमा लत्ताकपडा, किराना सामान, सुर्तीजन्य पदार्थ, कस्मेटिक, जुत्ता, खेलौना, हार्डवेयर सामग्री, पेय पदार्थ, मदिरा, इन्धन तथा ओसारपसारमा प्रयोग गरिएका मोटरसाइकलसमेत रहेका छन् ।
नियन्त्रणमा लिइएका सम्पूर्ण सामानहरूलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी दाखिलाका लागि सिरहा भन्सार कार्यालय पठाइएको सशस्त्र प्रहरीले जनाएको छ । न्यूजकारखाना






