काठमाडौं, असोज ६ गते ।
त्रिपुरेश्वरमा सोमबार बसमा आगलागी हुँदा जलेर मृत्यु भएका व्यक्तिको पहिचान गर्न प्रहरी सक्रिय छ ।
जलेका व्यक्तिको साथमा रहेको लाइसेन्सको आधारमा प्रहरीले उनी काभ्रेका २५ वर्षीय दावा लामा रहेको जानकारी मिडियाहरूलाई दिएको थियो । तर दावा लामा भन्ने व्यक्तिले आफू सकुशल रहेको बताएपछि प्रहरीले दिएको विवरण फरक परेको आशंका छ भने लाइसेन्स दुरुपयोगको अनुमान समेत गरिएको छ ।
आफूलाई दावा लामा भन्ने व्यक्तिलाई प्रहरीले उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ (बग्गीखाना) मा बोलाएको छ । उनीसँग अहिले सोधपुछ भइरहेको एक अधिकृतले जानकारी दिए ।
रिद्धिसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा सोमबार दिउँसो त्रिपुरेश्वर बस स्टप नजिक आगलागी भएको थियो । बसमा आगो लाग्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद भएको थियो ।
त्यसको केहीबेरमा बसको पछिल्लो भागतिरबाट आगो सल्किएको देखिएको थियो । सो घटनाको छानबिन भइरहेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।






