काठमाडौं, असोज ६ गते ।
नेपाल इन्जिनियर्स एसोसिएसनले हालैको बाढीबाट प्रभावित क्षेत्रमा प्राविधिक सहयोग उपलब्ध गराउने भएको छ ।
एसोसिएसनले बाढी प्रभावित स्थानीय तहलाई पत्राचार गरी आवश्यक प्राविधिक सहयोगको विवरण मागेको थियो । स्थानीय तहबाट प्राप्त प्रतिक्रिया तथा अनुरोधका आधारमा आवश्यक समन्वय गरी प्राविधिक सहयोगका काम अघि बढाउन लागिएको एसोसिएसनले जनाएको छ ।
एसोसिएसनका अनुसार बाढीबाट क्षति पुगेका भवन तथा संरचनाको क्षति मूल्यांकन, पूर्वाधार निरीक्षण, जोखिम पहिचान तथा सुरक्षित पुनर्स्थापना र पुनर्निर्माणका लागि दक्ष तथा अनुभवी इन्जिनियर र आर्किटेक्टहरूको टोली परिचालन गरिने छ ।
बाढी प्रभावित क्षेत्रमा आवश्यकता अनुसार प्राविधिक जनशक्ति परिचालन गरी क्षतिग्रस्त संरचनाको अवस्था मूल्यांकन तथा पुनर्निर्माणका लागि आवश्यक प्राविधिक परामर्श दिइने एसोसिएसनले जनाएको छ ।
त्यस्तै थप प्राविधिक सहयोग आवश्यक परे संघ सरकार, प्रदेश सरकार, गाउँपालिका तथा नगरपालिका, अन्य सरकारी निकाय, संघसंस्था र समुदायसँग समन्वय तथा सहकार्य गर्न एसोसिएसन तयार रहेको जनाएको छ ।
एसोसिएसनले बाढी प्रभावित क्षेत्रको सुरक्षित पुनर्स्थापना तथा पुनर्निर्माणका लागि प्राविधिक सहयोग आवश्यक पर्ने सम्बन्धित पक्षलाई समन्वय तथा सम्पर्क गर्न आग्रह समेत गरेको छ ।






