रौतहट, असोज ८ गते ।
अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद र ६ लाख रुपैयाँ जरिवाना तोकिएका रौतहटका एक फरार प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कटहरिया नगरपालिका–७ बगाहीका २३ वर्षीय अफरोज अन्सारी छन् । उनलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले कलैया उपमहानगरपालिका–६ स्थित कलैया बजारबाट पक्राउ गरेको हो ।
उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जले २०८१ पुस २४ गते अन्सारीलाई १८ वर्ष कैद, ६ लाख रुपैयाँ जरिवाना तथा अपराध पीडित राहत कोषमा २४ हजार रुपैयाँ भराउने फैसला गरेको थियो ।
फैसलापछि फरार रहेका अन्सारीलाई पक्राउ गरी जिल्ला अदालत बारा पेस गरिएको प्रहरीले जनाएको छ। अदालतको आदेशअनुसार उनलाई बुधबार कैद भुक्तानका लागि वीरगन्ज कारागार कार्यालय पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी मिनबहादुर घलेले अन्सारी पक्राउ परेको जानकारी दिएका छन् । न्यूजकारखाना






