महोत्तरी : धान बालीमा तीन थरी रोग

राजकरण महतो
बर्दिवास, असोज ८ गते ।

मधेसको धानबालीमा तिब्र रुपमा रोगको संक्रमण फैलिदै गएको छ । महोत्तरीको बर्दिबास नगरपालिका–३ पाटुसहित मधेसका धानबाली किराको प्रकोप देखिएको हो । मधेस सरकारको बाली संरक्षण प्रयोगशाला सिरहाका प्रमुख कोमल रिजालका अनुसार यस वर्ष पनि धानमा ब्लाट (मरुवा रोग) लागेको हाम्रो ल्याव रिपोर्टमै देखिएको छ । अर्को बीएलबी रोगको पनि संक्रमण फेला परेको छ । फेद डढुवा रोग मुख्य रुपमा देखाए परेको छ । चैते धानमा पर्सामा खैरो फड्को संक्रमण ब्रेकआउट नै भएको थियो । ‘किराले धानको बोटलाई सुकाएर परालजस्तो बनाइदिन्छ’, उनी भन्छन्, ‘मरुवा रोग लाग्यो भने धान खेति साखाप परिदिन्छ ।’

६६ वटा नमूना परिक्षण, धेरै डढुवा रोगको प्रकोप

बाली संरक्षण प्रयोगशाला, मधेस प्रदेश, सिरहाले गरेको परिक्षण अनुसार धानमा ब्लाट (मरुवा), बीएलबी, फेद डढुवा रोगको प्रकोप देखा परेको छ । यो रोगका कारण धानको पातमा राते सुक्ने, जराबाटै धानको बाला सुकेर सेताम्य बन्ने गरेको छ ।

प्रयोगशालमा साउनदेखि असोज ७ गतेसम्म जम्मा ६६ वटा धानमा देखा परेको रोगहरुको नमूना संकलन गरिएको छ । संकलित नमूनाको नतिजा अनुसार १८ वटामा ब्लाष्ट रोग, २७ वटामा पातको फेद डढुवा रोग, १६ वटामा ब्याक्टेरियल लिफ ब्लाइट रोग र ५ वटामा किरा लागेको फेला परेको छ ।

३ लाख ७३ हजार हेक्टर धान खेति

मधेस प्रदेशमा कूल ३ लाख ७३ हजार ६९३.२९ हेक्टर (९७.७१ प्रतिशत) खेतमा यस वर्ष धान रोपाई भएको छ । धानमा बाला लाग्ने बेलामा बोटमा थरीथरीका रोगहरुको आक्रमण बढेसंगै किसानहरु आजित भएका हुन् । धानको पातमा राते रोग लागेर सुक्ने र धानको घोघमा गबरा रोगको संक्रमणले किसानहरु हैरान भएका छन् ।

उपचार खै ?

धानमा रोग लागेपछि महोत्तरीको बर्दिबास नगरपालिका–३ माथिल्लो पाटुका प्रेम बहादुर माझी निकै समस्यामा परेका छन् । यो समस्याले उनी मात्रै होइन् तराई मधेसका लाखौं किसानहरु समस्यामा छन् । तर, सरकारका निकायबाट कुनै सुनवाई नभएको किसानहरु बताउँछन् ।

खेतमा धमाधम रोग लाग्न थालेपछि किसानहरुको होस्हवास् उडेको छ । रसायनिक मल, उन्नत बीउ, सिचाईँ, कामदार अभाव र महँगीको मार खेप्दै धान खेति लगाएका किसानहरु अहिले बालीमा रोगको संक्रमणले तनावमा फसेको बिजलपुराका किसान रामप्रकाश महतोको भनाई छ ।

यता, बर्दिबास नगरपालिकाको कृषि विकास शाखाकी कृषि अधिकृत वर्षा सुवेदीले धानमा लागेको रोगबारे अध्ययन गर्न खेतमै पुग्ने तयारी भइरहेको बताइन् ।

उत्पादन घट्ने जोखिम

नेपालको प्रमुख बाली– धानबाली हो । मधेसको धानबाली खेति गर्ने अधिकांश किसान छन् । हाल धानबालीमा रोगहरु देखापरेका छन् । रोगहरुको नियन्त्रण समय भएको छैन । यसले धानको उत्पादन अत्यन्तै न्यून हुने स्थिति आउने कृषि विज्ञ बाणिकराज काफ्लेले बताए । ‘सरकारले यसका लागि गम्भीर रुपमा ध्यान दिनुपर्छ । समयमा खेत रोप्न सकिएन । मल पनि पाइन । अहिले आएर रोगले हैरान बनाइरहेको छ । धान उत्पादनमा कमी आए नेपालमा खाद्य संकट ल्याउँछ’, उनी भन्छन् ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको