संयुक्त राष्ट्रसंघमा नेतान्याहुको सम्बोधन : ७५ देशका प्रतिनिधिद्वारा बहिष्कार

वासिङ्टन डीसी, असोज ९ गते ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बिहीबार संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेका छन् ।

उनी मञ्चमा उक्लिनै लाग्दा ७५ देशका प्रतिनिधिहरूले विरोध जनाउँदै नाराबाजी गरे र सभाकक्षबाट बाहिरिए ।

त्यसपछि नेतान्याहु करिब तीन मिनेटसम्म मौन उभिए । अनि उनले भने, ‘आफ्नो मन्तव्य सुरु गर्नुअघि म यो भन्न चाहन्छु कि यदि यहाँ अरू पनि कुनै कायरहरू छन् भने, उनीहरूले यहाँबाट निस्कनुपर्छ ।’ तर, त्यस अवधिमा दर्शकदीर्घा (ग्यालरी) नेतान्याहुका समर्थकहरूले खचाखच भरिएको थियो । उनीहरूले ताली बजाएर उनको स्वागत गरे र ‘आम यिस्राइल हाई’ अर्थात् ‘इजरायलका जनता जीवित छन्’ भन्दै नारा लगाए ।

आफ्नो सम्बोधनका क्रममा नेतान्याहूले गाजा, इरान र लेबनानसम्बन्धी इजरायलका कदमहरूको चर्चा गरे । उनले अमेरिकी राष्ट्रपति ट्रम्पको प्रशंसा गरे भने न्यु¥योर्कका मेयर मामदानी र युरोपेली नेताहरूको आलोचना गरे ।

सन् २०२३ अक्टोबर ७ को आक्रमणको प्रसंग उल्लेख गर्दै नेतान्याहुले इजरायलको सैन्य कारबाहीको बचाउ गरे । उनले हमासका आतङ्कवादीहरूले इजरायलीहरूको हत्या गरेको तरिका वास्तवमै भयावह र कल्पनाभन्दा बाहिरको क्रूरतापूर्ण कार्य भएको बताए । नेतान्याहुले थपे, ‘हाम्रा शत्रुहरूले इजरायल ढल्नेछ भन्ने सोचेका थिए, तर त्यसो भएन। हामी उठ्यौँ र सिंहझैँ लड्यौँ ।’

इजरायली प्रधानमन्त्रीले गाजामा इजरायलले नरसंहार गरिरहेको भन्ने आरोपलाई पूर्ण रूपमा अस्वीकार गरे । उनले यसलाई ‘२१औँ शताब्दीको सबैभन्दा ठूलो झूट’ भने ।

नेतान्याहुले अगाडी भने, ‘इजरायलले नरसंहार गरेको छैन, बरु नरसंहार रोकेको हो। यदि हमासका समर्थकहरूले मौका पाएका भए, उनीहरूले हरेक यहुदीको हत्या गर्ने थिए ।’

त्यसैगरी नेतान्याहूले हिजबुल्लाहविरुद्धको त्यो कारबाहीको पनि उल्लेख गरे, जसमा उक्त संगठनका सदस्यहरूसँग रहेका पेजरहरू विस्फोट गराइएका थिए। उनले भने, ‘के तपाईंहरूलाई पेजरहरू याद छरु हिजबुल्लाहलाई त पक्कै पनि याद होला ।’

गत १७ सेप्टेम्बर २०२४ मा लेबनान र सिरियाभरि हजारौँ पेजरहरू एकैसाथ विस्फोट भएका थिए, जसका कारण ३,००० भन्दा बढी मानिसहरू घाइते भएका थिए भने धेरैको ज्यान गएको थियो । न्यूजकारखाना


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको